काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्रीसहित २० जना नेता तथा सांसद चीन भ्रमणमा निस्किएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शनिबार चीन प्रस्थान गरेको हो।
११ दिनसम्म चल्ने भ्रमणका क्रममा रास्वपाको टोलीले चीनका विभिन्न सहर तथा त्यहाँको विकास, प्रविधि, औद्योगिक उत्पादन र नवप्रवर्तनका क्षेत्रबारे अध्ययन गर्ने कार्यक्रम छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टी प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए।
महामन्त्री आचार्यको नेतृत्वमा गएको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित २० जना सांसद सहभागी छन्। टोलीमा लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा। आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन्।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका स्थानको अवलोकन गर्नेछ। विशेषगरी विज्ञान, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, औद्योगिक विकास र उद्यमशीलताका क्षेत्रमा चीनले हासिल गरेका उपलब्धिबारे जानकारी लिने टोलीको तयारी छ।
टोलीका सदस्य तथा रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख आनन्दबहादुर चन्दले चीनको प्रविधि र विकासका अनुभवलाई नेपालको आवश्यकताअनुसार उपयोग गर्ने सम्भावनाबारे अध्ययन गरिने बताएका छन्।
उनका अनुसार कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा, शिक्षा, सार्वजनिक सेवा प्रवाह, औद्योगिक उत्पादन र उद्यमशीलताको विकासमा चिनियाँ अनुभवबाट नेपालले लाभ लिन सक्ने विषयमा अध्ययन तथा विचार आदानप्रदान गरिनेछ। त्यस्तै, कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ र डिजिटल प्रविधिका क्षेत्रमा चीनले अवलम्बन गरेका नीति तथा संस्थागत अभ्यासबारे पनि टोलीले जानकारी लिनेछ।
त्यस्तै, टोलीका सदस्य डा। धनञ्जय रेग्मीले भ्रमणले नेपाल र चीनबीचको आपसी समझदारी तथा आत्मीय सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार भ्रमणबाट आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार हुन सक्नेछ। साथै, राजनीतिक सम्बन्ध सुदृढीकरण र आगामी उच्चस्तरीय भ्रमणको तयारीमा समेत भ्रमणले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाटसमेत गरेको थियो।
यस भ्रमणलाई रास्वपाले चीनको विकास मोडल, प्रविधि र नीतिगत अभ्यास बुझ्ने अवसरका रूपमा प्रस्तुत गरेको छ। तर भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको विकास र सार्वजनिक सेवा प्रवाहमा कसरी रूपान्तरण गरिन्छ भन्ने विषय भने आगामी दिनमा महत्त्वपूर्ण हुनेछ।