काठमाडौं । हुसेन तलतको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा सबै विकेट गुमाउँदै १२९ रनमा समेटिएको हो।
कर्णालीको जितमा ब्याटिङ र बलिङ दुवैमा चम्किएका तलत नायक बने। उनले ब्याटिङतर्फ अविजित ५१ रन बनाउनुका साथै बलिङमा ३ विकेट लिए। यससँगै प्लेअफ दौडबाट बाहिरिसकेको कर्णालीले लिग चरणको अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो। उसका लागि तलतले ३३ बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित ५१ रन बनाए। त्यस्तै, ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रन जोडे।
पवन सर्राफले २१ बलमा १५ रन बनाउँदा गुल्सन झाले अन्तिमतिर ६ बलमा १ चौका र २ छक्कासहित आक्रामक १८ रन थपे। अन्य ब्याटरले भने उल्लेखनीय योगदान दिन सकेनन्। यस सिजन पहिलो खेल खेलेका चसिन शर्मा खाता नखोली आउट भए भने दीपक डुम्रेले ७, कप्तान डेभिड मिलरले ५, सोमपाल कामीले ४ र मार्क वाटले ६ रन बनाए।
चितवनका लागि कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान २ विकेट लिए। रिजन ढकाल र कप्तान सिकन्दर राजाले एक–एक विकेट हात पारे।
१५४ रनको लक्ष्य पछ्याएको चितवनले सुरुवात भने राम्रो गरेको थियो। ओपनर कमिल मिशारा र देव खनालले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए। मिशाराले १७ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए भने देवले १३ बलमा ३ चौकासहित १४ रन जोडे।
तर, सुरुवाती साझेदारीपछि चितवनको ब्याटिङ क्रम लगातार धराशायी बन्यो। कप्तान सिकन्दर राजा २, विवेक यादव ६ र डान मोस्ली ८ रनमा आउट भएपछि चितवन ६४ रनमा पाँच विकेट गुमाउने अवस्थामा पुगेको थियो।
त्यसपछि कुशल मल्ल र सलाउद्दिन खानले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि ठूलो साझेदारी गर्न सकेनन्। कुशलले १५ बलमा १८ रन बनाए भने सलाउद्दिन ७ रनमा आउट भए। यस सिजन पहिलो खेल खेलेका अशोक धामीले ११ रन जोड्दा कमल सिंह ऐरी र रिजन ढकाल समान १ रनमा आउट भए।
चितवनका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका उसामा मिरले अविजित २८ रन बनाए। उनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।
कर्णालीका लागि हुसेन तलतले ३.१ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। मार्क वाट र पवन सर्राफले समान २ तथा सोमपाल कामीले एक विकेट लिए।
यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवनले हारका बाबजुद लिग चरण चौथो स्थानमा समाप्त गरेको छ। सात खेलबाट सात अंक जोडेको चितवन अब एलिमिनेटर खेल्नेछ। यता प्रतियोगिताबाट बाहिरिसकेको कर्णालीले सुरुवाती दुई खेल जिते पनि त्यसपछिका लगातार चार खेलमा पराजय बेहोरेको थियो। अन्तिम खेलमा जित निकाल्दै टोलीले प्रतियोगिताबाट बिदाइ लिएको छ।