काठमाडौं । रूस-युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासलाई तीव्रता दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिनिधिहरू रूस पुगेका छन्। ट्रम्पका ज्वाइँ जारेड कुश्नर र उनका सहयोगी स्टिभ विटकफ बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न रूस पुगेका हुन्।
उनीहरूले पुटिनसँग हालै संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको रूस-युक्रेन शान्ति वार्ताबारे छलफल गर्ने कार्यक्रम छ। अमेरिकी मध्यस्थतामा नोभेम्बर १० र ११ मा भएको दुईदिने वार्ताले युद्ध अन्त्यका लागि नयाँ सम्भावना देखाएको अमेरिकी प्रतिनिधिहरूको भनाइ छ।
कुश्नरले पछिल्लो वार्ताले युद्ध अन्त्य गर्ने नयाँ अवसर सिर्जना गरेको बताएका छन्। यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि सन् २०२७ अघि नै युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन्।
अबुधाबीमा भएको वार्तामा रूस र युक्रेन युद्धबन्दी आदानप्रदान गर्न सहमत भएका थिए। दुवै देशले एक हजार-एक हजार युद्धबन्दी साटफेर गर्ने सम्भावना रहेको जेलेन्स्कीले बताएका छन्। यद्यपि, यससम्बन्धी विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
युद्धबन्दी आदानप्रदानमा सहमति जुटे पनि युद्ध अन्त्यका मुख्य राजनीतिक तथा क्षेत्रीय विवादहरू भने अझै समाधान भएका छैनन्। विशेषगरी पूर्वी युक्रेनको डोनबास क्षेत्रमाथिको स्वामित्वलाई लिएर दुवै पक्षबीच मतभेद कायम छ।
यसैबीच, युरोपेली नेताहरूले बिहीबार आयरल्यान्डको डब्लिनमा बैठक गर्दैछन्। उक्त बैठकमा जेलेन्स्की पनि सहभागी हुने कार्यक्रम छ। पुटिनसँगको भेटवार्तापछि अमेरिकी प्रतिनिधिहरू डब्लिन पुगेर जेलेन्स्कीसँग छलफल गर्ने तयारीमा छन्।
रूस, युक्रेन र अमेरिकाबीचको पछिल्लो कूटनीतिक सक्रियतालाई युद्ध अन्त्य गर्ने दिशामा महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। तर युद्धविराम र भूभागसम्बन्धी विवादमा ठोस सहमति नजुटेसम्म शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने निश्चित देखिएको छैन।