काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ। बिहीबार सम्पन्न खेलमा बागमतीले गण्डकी प्रदेशलाई आठ विकेटले पराजित गरेको हो।
कर्णाली प्रदेशको सुर्खेतमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११० रन बनाएको थियो।
गण्डकीका लागि आयुष्मा चापागाईंले ३७ बलमा एक चौकासहित सर्वाधिक २१ रन बनाइन्। चन्द्रमाया बराल र सृजना पौडेलले समान १७ रनको योगदान दिए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
गण्डकीलाई सस्तैमा समेट्ने क्रममा बागमतीकी लक्ष्मीमाया लामाले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिइन्। संस्कृति फुयाल र सम्भव ढकालले दुई–दुई तथा सृजा घिमिरेले एक विकेट हात पारे।
१११ रनको लक्ष्य पछ्याएको बागमतीले १७.५ ओभरमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
बागमतीको जितमा बिपिशा शाहीले अविजित अर्धशतकीय पारी खेलिन्। उनले ४६ बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाइन्। ओपनर हेलिशा गुरुङले ३६ बलमा २७ रन जोडिन् भने लक्ष्मीमाया लामा १३ रनमा अविजित रहिन्।
कञ्चन श्रेष्ठ नौ रनमा आउट भइन्। बागमतीका दुवै ओपनर रन आउट भएका थिए। टोलीले अतिरिक्तबाट १२ रन प्राप्त गरेको थियो।
समूह ‘सी’मा रहेको बागमतीले यसअघि पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। लगातार दोस्रो जितसँगै दुई अंक जोडेको बागमती समूहको शीर्ष स्थानमा रहेको छ।
गण्डकी भने प्रतियोगिताको आफ्नो पहिलो खेलमै पराजित भएको छ।