काठमाडौं । ‘कमेडी दरबार’ समूहले निर्माण गरेको हास्यप्रधान फिल्म ‘ककाकिकी’को काठमाडौंमा प्रिमियर गरिएको छ । यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मको मंगलबार आयोजित प्रिमियरमा फिल्मकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । प्रिमियरमा सहभागी अधिकांशले फिल्मको कथावस्तु, प्रस्तुतीकरण, कमेडी पक्ष र कलाकारको अभिनयको प्रशंसा गरेका छन् ।
फरक शैलीको ट्रेलर र ‘धन चोरे पुलिस थुनामा’ गीतका कारण चर्चामा रहेको फिल्मले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको हो । फिल्म हेरेपछि उपस्थित दर्शकले यसको कथावाचन शैली र मेकिङमा गरिएको मेहनतको प्रशंसा गरेका थिए । विशेषगरी कमेडी संवादमा दर्शकको हाँसोले हल नै गुञ्जायमान बनेको थियो ।
प्रिमियरमा सहभागी कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, राजाराम पौडेल, किरण केसी, विल्सन विक्रम राई, निर्देशक मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, गायक शिव परियार, अर्जुन सापकोटा र गायिका एलिना चौहानलगायतले फिल्मलाई फरकपन बोकेको भन्दै प्रशंसा गरेका थिए । उनीहरूले दर्शकलाई फिल्म हेर्न आग्रहसमेत गरेका छन् ।
निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको कथावाचन शैली तथा फिल्मको मेकिङमा गरिएको मेहनतलाई प्रिमियरमा विशेष रूपमा प्रशंसा गरिएको थियो । निर्देशक बिक्की अग्रवालले प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफूलाई खुसी बनाएको बताए । अब फिल्म दर्शकलाई सुम्पिने समय आएको उल्लेख गर्दै उनले दर्शकबाट आउने सकारात्मक तथा नकारात्मक दुवै प्रतिक्रियालाई सहर्ष स्वीकार गर्ने बताए ।
फिल्मका कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीलगायतले पनि प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताएका छन् ।
श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको फिल्ममा शिशिर वाङ्देल, दीया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली र विश्वास तिमल्सिना (बीटी कान्छा)लगायतका कलाकारको अभिनय छ ।
हास्यप्रधान विषयवस्तुमा निर्माण भएको ‘ककाकिकी’ यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।