काठमाडौं । एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ। कतारमा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गरेको हो।
दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा युएईले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। नेपालले २८ ओभर बाँकी छँदै लक्ष्य भेट्टाएको हो।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ५६ बलमा ६ चौका र १ छक्काको मद्दतले ५७ रन बनाए। भुर्तेल २०.२ ओभरमा चौथो विकेटका रूपमा आउट भए।
त्यस्तै मयन यादवले २८ बलमा २७ रन जोड्दा बसिर अहमदले ३१ बलमा १८ रन बनाए। पवन सर्राफ ८ बलमा ९ रन बनाउँदै अविजित रहे। ओपनर अर्जुन कुमाल ५ रनमा आउट भए भने देव खनालले खाता खोल्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। युएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए। उनले ७० बलमा ५ चौका प्रहार गरे। हरप्रीत सिंहले ३२ रन र नुरुल्लाह अयोबीले १२ रन जोडे।
युएईलाई सस्तैमा समेट्ने क्रममा नेपाली बलरहरूले प्रभावशाली प्रदर्शन गरे। कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३-३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडन राख्दै मात्र ११ रन खर्चिए। भुर्तेलले ५ ओभरमा १५ रन दिएर ३ विकेट हात पारे।
त्यस्तै ललित राजवंशी, राशिद खान र नन्दन यादवले समान एक-एक विकेट लिए।
प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’सँग पराजित भएको नेपालका लागि यो जित महत्वपूर्ण बनेको छ। यसअघि युएई पनि पाकिस्तान ‘ए’सँग पराजित भएको थियो। दुवै टोली पहिलो जितको खोजीमा रहेकामा नेपालले बाजी मारेको हो।
आठ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। युएईलाई पराजित गरेसँगै नेपालले प्रतियोगितामा दुई अंक जोडेको छ।