काठमाडौं । हलिउड अभिनेता रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्डका रूपमा देखिने चर्चासँगै उनको पारिश्रमिकलाई लिएर पनि अन्तर्राष्ट्रिय फिल्म वृत्तमा चर्चा चुलिएको छ। निर्माता कम्पनी अमेजन एमजीएम स्टुडियोले उनलाई नयाँ जेम्स बन्डका रूपमा सार्वजनिक गरेपछि आगामी तीन फिल्मका लागि उनले पाउने पारिश्रमिकबारे विभिन्न विवरण सार्वजनिक भएका छन्।
बेलायती अखबार ‘द मिरर’का अनुसार प्याटिन्सनले जेम्स बन्डको भूमिकाका लागि अडिसन दिएकै भरमा १० लाख अमेरिकी डलर अर्थात् करिब ७ लाख ६० हजार पाउन्ड पारिश्रमिक पाएका थिए। त्यस्तै, आगामी तीनवटा फिल्मका लागि उनले करिब ७ करोड ५० लाख अमेरिकी डलर अर्थात् ५ करोड ७३ लाख पाउन्डको सम्झौता गर्न लागेको चर्चा छ।
यो सम्झौता कार्यान्वयन भए प्याटिन्सनले एउटा फिल्मबाट औसत २ करोड ५० लाख अमेरिकी डलर पारिश्रमिक पाउनेछन्। यो रकम जेम्स बन्डको अघिल्लो पुस्ताका अभिनेता ड्यानियल क्रेगले ‘स्पेक्टर’ र ‘नो टाइम टु डाइ’मा अभिनय गरेबापत पाएको पारिश्रमिककै हाराहारीमा हुनेछ।
यद्यपि, प्याटिन्सन र अमेजन एमजीएम स्टुडियो दुवैले उनको पारिश्रमिकसम्बन्धी विवरण आधिकारिक रूपमा सार्वजनिक गरेका छैनन्। त्यसैले सार्वजनिक भएको रकमलाई हाल सञ्चारमाध्यममा आएको चर्चाका रूपमा मात्र हेरिएको छ।
‘द ट्वाइलाइट सागा’मा एडवर्ड कलेनको भूमिका निर्वाह गरेपछि विश्वव्यापी चर्चा कमाएका प्याटिन्सन पछिल्लो समय फरक शैलीका फिल्ममा आफ्नो अभिनय क्षमता प्रस्तुत गर्दै आएका छन्। ‘गुड टाइम’, ‘द लाइटहाउस’, ‘टेनेट’ र ‘द ब्याटम्यान’जस्ता फिल्ममा उनको अभिनयले प्रशंसा पाएको थियो। पछिल्लो समय ‘द ओडिसी’सँग पनि जोडिएका उनी अब जेम्स बन्डको प्रतिष्ठित चरित्रमार्फत नयाँ दर्शकमाझ पुग्ने अपेक्षा गरिएको छ।
जेम्स बन्ड हलिउडको सबैभन्दा चर्चित जासुसी चरित्रमध्ये एक हो। यसअघि ड्यानियल क्रेगले पाँचवटा फिल्ममा यो भूमिका निर्वाह गरेका थिए। अब प्याटिन्सनले उक्त चरित्रलाई कस्तो शैलीमा प्रस्तुत गर्छन् भन्ने चासो बढेको छ।