काठमाडौं । बङ्गलादेशमा राजनीतिक प्रतिशोध र हिंसा-प्रतिहिंसाको शृङ्खला थप चर्किएको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणासँगै बढेको राजनीतिक तनावका बीच अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकका करिब ५० घर र पसलमा आगजनी तथा तोडफोड गरिएको छ।
शुक्रबार नराइल जिल्लाको कालिया उपजिल्लास्थित बेन्दर चार गाउँमा भएको आक्रमण दिउँसोदेखि राति अबेरसम्म जारी रहेको स्थानीयलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणकारीहरूले घर तथा पसलमा तोडफोड गर्नुका साथै फर्निचर, बहुमूल्य सामान र अन्य सामग्रीसमेत लुटपाट गरेका थिए। अवामी लिगका पूर्वसांसद, पूर्वमेयर तथा पार्टीका प्रभावशाली नेताहरूका घरसमेत आक्रमणको निशानामा परेका छन्।
स्थानीयले घटनामा प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० का कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन्। तर, आरोपितहरूको पहिचान र संलग्नता भने पुष्टि भइसकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
यो हिंसाको पछिल्लो शृङ्खला मात्रै हो। गत नोभेम्बर १८ मा बेन्दर चार क्षेत्रमा बीएनपी कार्यकर्ताको मोटरसाइकल र्यालीमाथि आक्रमण भएपछि तनाव थप चर्किएको थियो। उक्त घटनामा तीन जना घाइते भएका थिए। गम्भीर अवस्थामा अस्पताल लगिएका दुई जनाको उपचारका क्रममा मृत्यु भएपछि बीएनपीले आक्रमणका लागि अवामी लिगका सदस्यलाई जिम्मेवार ठहर्याएको थियो।
यसबीच विदेश राज्यमन्त्री हुमायुन कबीरको घरमा समेत पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ। घटनाका बेला उनी घरमा थिएनन्। कबीरले यस आक्रमणमा अवामी लिगको संलग्नता रहेको आरोप लगाएका छन्। यद्यपि, घटनाको अनुसन्धान जारी छ।
अवामी लिगले नोभेम्बर १९ मा देशव्यापी बन्द आह्वान गरेपछि बङ्गलादेशका विभिन्न क्षेत्रमा आगजनी, तोडफोड र हिंसात्मक गतिविधि भएका थिए। गोपालगन्जमा बीएनपीका दुई सांसदका घरमा समेत तोडफोड र आगजनी गरिएको थियो। प्रहरीले कम्तीमा ६ वटा बस तथा पिकअप गाडीमा आगजनी भएको र रेलमार्गमा समेत क्षति पुगेको जनाएको छ।
सन् २०२४ को विद्यार्थी आन्दोलनले शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य गरेपछि बङ्गलादेशको राजनीति निरन्तर अस्थिरताको चपेटामा छ। सत्ता परिवर्तनपछि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो। अहिले प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले पनि उक्त प्रतिबन्धलाई निरन्तरता दिएको छ।
यसैबीच हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किएर अदालतको कानुनी प्रक्रियाको सामना गर्ने इच्छा व्यक्त गरेकी छन्। उनले जुनसुकै अवस्थामा पनि देश फर्किने अडान दोहोर्याएपछि राजनीतिक वृत्तमा थप तनाव देखिएको छ।
हसिनाको सम्भावित पुनरागमन, अवामी लिगमाथिको प्रतिबन्ध र बीएनपी-अवामी लिगबीचको बढ्दो टकरावले बङ्गलादेशको राजनीतिक वातावरण थप अस्थिर बनाउँदै लगेको छ। पछिल्ला आगजनी र आक्रमणका घटनाले राजनीतिक प्रतिस्पर्धा प्रतिशोधपूर्ण हिंसामा परिणत हुने जोखिमसमेत बढाएको छ।