काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले आफ्नो चर्चित फिल्म ‘दबंग’को चौथो श्रृंखला निर्माण हुने पुष्टि गरेका छन्। तर, दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेको फिल्म ‘बजरंगी भाइजान’को दोस्रो भाग भने नबन्ने संकेत दिएका छन्।
आगामी वार ड्रामा फिल्म ‘मातृभूमिः मे वार रेस्ट इन पीस’को प्रचारमा व्यस्त सलमानले शुक्रबार हैदराबादमा आयोजित ‘एबीपी राइजिङ समिट २०२६’मा सहभागी हुँदै आफ्ना चर्चित फिल्मका सिक्वेलबारे धारणा सार्वजनिक गरेका हुन्।
कार्यक्रमका क्रममा ‘दबंग’, ‘बजरंगी भाइजान’, ‘किक’ र ‘एक था टाइगर’जस्ता फिल्मका आगामी श्रृंखला कहिले आउने भन्ने प्रश्नमा सलमानले ‘दबंग ४’ बन्नेमा कुनै शंका नरहेको बताए।
उनले ‘दबंग’को नयाँ श्रृंखला ढिलोचाँडो दर्शकमाझ आउने बताउँदै भने, “‘दबंग’ पक्कै आउँछ, किनकि त्यो हाम्रो हातमा छ। बाँकी फिल्महरू निर्माताको हातमा छन्। त्यसैले ती फिल्मका सिक्वेल बन्छन् कि बन्दैनन् भन्ने मलाई नै थाहा छैन।”
तर, ‘बजरंगी भाइजान’को हकमा भने सलमानको धारणा फरक छ। पहिलो भागले दर्शकमाझ बनाएको भावनात्मक प्रभाव र लोकप्रियता दोस्रो भागले कायम गर्न नसक्ने चिन्ता व्यक्त गर्दै उनले यसको सिक्वेल निर्माण हुने सम्भावना नरहेको संकेत गरे।
उनका अनुसार पहिलो फिल्मसँग दोस्रो भागको तुलना हुन थाल्दा दर्शकले पहिलेको जस्तो आनन्द नपाएको प्रतिक्रिया दिन सक्छन्। त्यसैले ‘बजरंगी भाइजान’को अर्को भाग बनाउनु उचित नहुने उनको बुझाइ छ।
यसैबीच सलमानले आफ्नो आगामी फिल्म ‘मातृभूमि’लाई ‘बजरंगी भाइजान’सँग तुलना गरेका छन्। भारतको सीमा क्षेत्रमा घटेको घटनामा आधारित फिल्मले सैनिक र उनीहरूको परिवारमा पर्ने प्रभावलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने उनले बताए।
सलमानको पछिल्लो अभिव्यक्तिले ‘दबंग’को नयाँ श्रृंखलाको प्रतीक्षामा रहेका दर्शकलाई उत्साहित बनाएको छ भने ‘बजरंगी भाइजान २’ हेर्न चाहने दर्शकका लागि निराशाजनक संकेत दिएको छ।