काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणमा गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको छ।
प्रधानमन्त्री शाह भारत भ्रमणमा रहेका बेला मन्त्रिपरिषद्को वरियताक्रमअनुसार श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो। प्रधानमन्त्रीपछि दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र तेस्रो वरियतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसमेत प्रधानमन्त्रीसँगै भारत भ्रमणमा सहभागी भएपछि श्रेष्ठले उक्त जिम्मेवारी पाउनुभएको हो।
प्रधानमन्त्री शाह आइतबार ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो। भ्रमण टोलीमा अर्थमन्त्री वाग्ले, परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी छन्।
सरकारी टोलीबाहेक निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका छन्। भ्रमणका क्रममा नेपाल र भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने कार्यक्रम छ।
भ्रमणको पहिलो दिन प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सोमबार भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।
त्यस्तै, प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ।
प्रधानमन्त्री शाहले दुईदिने भ्रमण सम्पन्न गरी सोमबार साँझ नेपाल वायुसेवाको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ। उहाँ स्वदेश नफर्किएसम्म कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले सरकारको नेतृत्वसम्बन्धी जिम्मेवारी सम्हाल्नुहुनेछ।