काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणमा भारत जानुभएका शाहलाई नयाँदिल्लीमा विशेष स्वागतको तयारी गरिएको छ। भ्रमणलाई नेपाल–भारत सम्बन्ध र आर्थिक सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानमार्फत आज दिउँसो भारत प्रस्थान गर्नुभएको हो। उहाँसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू भ्रमणमा सहभागी छन्। सरकारी टोलीमा ३४ सदस्य रहेका छन् भने निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी हुँदैछन्। सञ्चारकर्मीसमेत सहभागी हुँदा भ्रमण दलको कुल संख्या एक सयभन्दा बढी पुगेको छ।
भारतीय समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुहुनेछ। विमानस्थलबाट उहाँ सिधै होटल ताजमहल पुग्नुहुनेछ।
भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ। साँझ ६ बजे हुने भेटमा दुई देशबीचको सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। आजका लागि भने अन्य औपचारिक भेटघाट तथा कार्यक्रम तय गरिएको छैन।
भ्रमणको मुख्य कूटनीतिक कार्यक्रम सोमबार हुनेछ। प्रधानमन्त्री शाहले बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। दुवै प्रधानमन्त्रीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत गरिएको छ।
मोदीसँगको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायतका विषय प्रमुख एजेन्डा रहनेछन्। विशेषगरी दुई देशबीच आर्थिक सहकार्य विस्तार, व्यापारिक सम्बन्ध सहज बनाउने तथा ऊर्जा र पूर्वाधारका क्षेत्रमा नयाँ सम्भावनाको खोजीमा छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ।
वार्तापछि दुवै देशबीच भएका सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय भएको छ। साथै, सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यमार्फत सम्पन्न भएका परियोजनाको संयुक्त उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ।
प्रधानमन्त्री शाहले सोमबार अपराह्न भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। राष्ट्रपति निवासमा हुने भेटपछि उहाँ सोही दिन साँझ स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको यो भ्रमणलाई नयाँ सरकारको भारतसँगको सम्बन्ध र कूटनीतिक प्राथमिकता बुझ्ने अवसरका रूपमा समेत हेरिएको छ। भ्रमणबाट दुई देशबीच विद्यमान सम्बन्ध थप प्रगाढ बनाउनुका साथै व्यापार, लगानी, ऊर्जा र पूर्वाधारका क्षेत्रमा सहकार्य विस्तार हुने नेपालको अपेक्षा छ।