काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ। प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणमा भारत पुग्नुभएका शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय पक्षले विशेष स्वागत गरेको छ।
प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभएको हो। उहाँको स्वागतका लागि विमानस्थलमा सांस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै भारतीय सेनाको टुकडीसमेत परिचालन गरिएको थियो। नेपाली प्रतिनिधिमण्डलको स्वागतमा गरिएको विशेष व्यवस्थाले भ्रमणलाई भारतले दिएको औपचारिक महत्त्वसमेत झल्काएको छ।
नेपाल वायुसेवाको नियमित उडानमार्फत नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी छन्। सरकारी टोलीमा ३४ सदस्य रहेका छन् भने निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका छन्।
विमानस्थलमा स्वागत कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जाने कार्यक्रम छ। भ्रमणको पहिलो दिन आज उहाँले भारतीय विदेशमन्त्री डा। एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ।
यद्यपि, भ्रमणको मुख्य कूटनीतिक भेटवार्ता भने सोमबार हुनेछ। प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने कार्यक्रम छ। दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत गरिएको छ।
मोदीसँगको भेटमा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुनेछ। साथै, दुई देशबीच सम्पन्न ऊर्जा तथा सम्पर्क सञ्जालसम्बन्धी परियोजनाको संयुक्त उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ।
प्रधानमन्त्री शाहले सोमबार नै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। सबै औपचारिक कार्यक्रम सम्पन्न गरी उहाँ सोमबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नयाँ सरकारको विदेश नीतिगत प्राथमिकता र नेपाल–भारत सम्बन्धको आगामी दिशाका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। भ्रमणबाट दुई देशबीचको राजनीतिक सम्बन्धसँगै व्यापार, लगानी, ऊर्जा र पूर्वाधारका क्षेत्रमा सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ।