काठमाडौं । नेपाली चलचित्रको इतिहासमा सर्वाधिक सम्झिइने जोडीमध्ये एक उत्तम प्रधान र निरुता सिंह पुनः एकसाथ पर्दामा देखिने भएका छन् । कालजयी चलचित्र ‘दर्पण छायाँ’बाट दर्शकको मन जितेको यो जोडी करिब २२ वर्षपछि नयाँ चलचित्र ‘सारथी’मार्फत सहकार्यमा फर्किएको हो ।
आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘सारथी’को गत शुक्रबार सार्वजनिक ट्रेलरले उत्तम र निरुतालाई श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत गरेको छ । ट्रेलरको एउटा दृश्यमा उत्तमले निरुताको सिउँदोमा सिन्दूर भरिरहेको देख्न सकिन्छ ।
दुई दशकभन्दा लामो समयपछि उत्तम र निरुतालाई एकसाथ पर्दामा देख्न पाउने भएपछि चलचित्रप्रति दर्शकको चासो बढेको छ । ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शकले यो जोडीको पुनरागमनलाई लिएर उत्साह व्यक्त गरिरहेका छन् । धेरैले उनीहरूको सहकार्यलाई पुराना चलचित्रका सम्झना ताजा गराउने अवसरका रूपमा लिएका छन् । कतिपय दर्शकले वर्षौंपछि यो जोडीलाई पर्दामा देख्दा रोमाञ्चित भएको प्रतिक्रिया दिएका छन् ।
दर्शकको यही उत्साह चलचित्रको ट्रेलरको युट्युब प्रदर्शनमा पनि देखिएको छ । समाचार तयार पार्दासम्म ट्रेलरले १ लाख ३८ हजार भ्यूज प्राप्त गर्दै युट्युबको ‘मुभिज चार्ट’तर्फ ट्रेन्डिङको नवौँ स्थान हासिल गरेको छ ।
‘दर्पण छायाँ’मा स्मृति र अभिषेकका रूपमा दर्शकको मनमा बसेका उत्तम र निरुताको नयाँ सहकार्यले ‘सारथी’लाई प्रदर्शनअघि नै चर्चामा ल्याएको छ । यद्यपि, ट्रेलरप्रतिको उत्साहलाई चलचित्रको वास्तविक व्यावसायिक सफलतामा बदल्न भने प्रदर्शनपछिको दर्शक प्रतिक्रिया र बक्स अफिसको नतिजा निर्णायक हुनेछ ।
कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्रमा उत्तम प्रधान र निरुता सिंहसँगै गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, आशा विश्वकर्मा र तुलसी राईलगायत कलाकारको अभिनय रहेको छ ।
तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । ‘दर्पण छायाँ’को लोकप्रिय जोडीलाई पुनः एकसाथ हेर्न चाहने दर्शकका लागि ‘सारथी’ यस वर्षको प्रतीक्षित चलचित्रमध्ये एक बनेको छ ।