काठमाडौं । कोशी प्रदेश १५ दिनदेखि प्रदेश प्रमुखविहीन बनेको छ । पाँचवर्षे कार्यकाल पूरा गरेर परशुराम खापुङ पदमुक्त भएपछि संघीय सरकारले अहिलेसम्म नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सकेको छैन । न त अर्को प्रदेशका प्रदेश प्रमुखलाई कार्यवाहक जिम्मेवारी नै तोकिएको छ । संवैधानिक पद लामो समयसम्म रिक्त रहँदा प्रदेश सरकारदेखि सत्तारुढ दल नेकपा एमालेसम्मलाई सकस परेको छ ।
२०७८ साल कात्तिक २५ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका खापुङले गत कात्तिक २४ गते पाँचवर्षे कार्यकाल पूरा गरेका थिए । उनी प्रदेश प्रमुखको पाँचवर्षे पूरा कार्यकाल बिताउने पहिलो व्यक्ति हुन् । तर, उनको कार्यकाल सकिएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि नयाँ नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन ।
प्रदेश प्रमुखको अनुपस्थितिले अहिले कोशी प्रदेशमा महत्वपूर्ण संवैधानिक कामकारबाही प्रभावित हुने अवस्था बनेको छ । प्रदेशसभाको अधिवेशन चालु नरहेको अवस्थामा प्रदेश सरकारले तत्काल आवश्यक काम अघि बढाउन केही अध्यादेश ल्याउने तयारी गरिरहेको छ । तर, अध्यादेश जारी गर्ने संवैधानिक अधिकार प्रदेश प्रमुखसँग रहने भएकाले सरकारको तयारीसमेत अन्योलमा परेको छ ।
अर्कोतर्फ, सत्तारुढ नेकपा एमालेभित्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई परिवर्तन गर्ने विषयले पनि चर्चा पाइरहेको छ । पार्टीको संस्थापन पक्ष मुख्यमन्त्री परिवर्तनको कसरतमा रहेका बेला प्रदेश प्रमुखको पद रिक्त हुँदा नेतृत्व परिवर्तनसँग जोडिएका संवैधानिक प्रक्रिया कसरी अघि बढाउने भन्ने अन्योल थपिएको छ ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा प्रदेश प्रमुख नहुँदा प्रदेशमा काम गर्न कठिनाइ भइरहेको बताउँछन् । पार्टीले सरकारको नेतृत्व परिवर्तनबारे निर्णय गरे पनि प्रदेश प्रमुखको अनुपस्थितिले थप अन्योल सिर्जना गरेको उनको भनाइ छ ।
त्यस्तै, एमालेका प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी पनि संवैधानिक पद रिक्त हुँदा प्रदेश सरकारको कामकारबाही प्रभावित भएको बताउँछन् । प्रदेशसभाको अधिवेशन नचलेको अवस्थामा सरकारले तत्काल काम अघि बढाउन अध्यादेश ल्याउन खोजे पनि प्रदेश प्रमुख नहुँदा समस्या भएको उनको भनाइ छ । प्रदेश प्रमुखको पद एक दिन पनि रिक्त राख्न नहुने भण्डारीको तर्क छ ।
तर, नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने वा अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत कार्यभार दिने विषयमा राष्ट्रपति कार्यालयमा अहिलेसम्म औपचारिक प्रक्रिया अघि बढेको छैन । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्को सिफारिससहित नयाँ प्रदेश प्रमुख नियुक्ति वा कार्यवाहक जिम्मेवारी तोक्ने कुनै पत्र राष्ट्रपति कार्यालयमा पुगेको छैन ।
प्रदेश प्रमुखको कार्यालय विराटनगरकी अधिकृत निशा भट्टराईले पनि पद रिक्त रहेको जानकारी संघीय सरकारमा पुगिसकेको बताएकी छन् । तर, केन्द्रबाट नयाँ नियुक्ति वा कार्यवाहक जिम्मेवारी तोकिएको विषयमा कुनै जानकारी नआएको उनको भनाइ छ । उनका अनुसार प्रमाणीकरणका लागि तत्काल कुनै फाइलसमेत कार्यालयमा पुगेको छैन ।
संविधानमा छ कार्यवाहकको व्यवस्था
नेपालको संविधानले प्रदेश प्रमुखको पद रिक्त हुँदा संवैधानिक कामकारबाही नै अवरुद्ध नहोस् भनेर वैकल्पिक व्यवस्था गरेको छ । संविधानको धारा १६५ को उपधारा ९१० ले प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था उल्लेख गरेको छ भने उपधारा ९२० ले नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्म अर्को प्रदेशको प्रदेश प्रमुखलाई समेत उक्त प्रदेशको कामकाज गर्ने गरी राष्ट्रपतिले तोक्न सक्ने व्यवस्था गरेको छ ।
तर, एउटा प्रदेशका प्रदेश प्रमुखले अर्को प्रदेशको जिम्मेवारी स्वतः पाउने व्यवस्था भने छैन । त्यसका लागि संघीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट औपचारिक निर्णय हुनुपर्छ ।
प्रदेश प्रमुखको अनुपस्थितिले प्रदेश सरकारका दैनिक प्रशासनिक काम पूर्ण रूपमा ठप्प नभए पनि महत्वपूर्ण संवैधानिक प्रक्रिया प्रभावित भएका छन् । संविधानको धारा १६६ अनुसार मुख्यमन्त्री तथा मन्त्रीहरूको नियुक्ति र शपथग्रहण, प्रदेशसभाको अधिवेशन आह्वान तथा अन्त्य, अध्यादेश जारी र प्रदेशसभाबाट पारित विधेयक प्रमाणीकरण गर्ने अधिकार प्रदेश प्रमुखसँग छ ।
यसैले प्रदेश प्रमुखको पद रिक्त रहँदा प्रदेश सरकारका महत्वपूर्ण निर्णय कार्यान्वयन गर्ने संवैधानिक बाटो नै प्रभावित हुने अवस्था बनेको छ ।
रास्वपाले नाम सिफारिस गरेको चर्चा निराधार
यसैबीच, नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशले केन्द्रमा तीन जनाको नाम सिफारिस गरेको चर्चा पनि सार्वजनिक भएको थियो । जनजाति समुदायबाट प्रदेश प्रमुख नियुक्त गर्न पार्टीले नाम पठाएको दाबीसमेत गरिएको थियो ।
तर, रास्वपा कोशी प्रदेश अध्यक्ष चन्द्र राईले भने पार्टीले कसैको नाम सिफारिस नगरेको स्पष्ट पारेका छन् । प्रदेश प्रमुख नियुक्तिको विषयमा व्यक्तिगत रूपमा चासो हुनु स्वाभाविक भए पनि पार्टीको तर्फबाट कुनै नाम केन्द्रमा नपठाइएको उनको भनाइ छ ।
यसरी प्रदेश प्रमुखको पद रिक्त भएको १५ दिन बितिसक्दा पनि संघीय सरकारले नियुक्ति वा कार्यवाहकको व्यवस्था गर्न नसक्दा कोशी प्रदेशका महत्वपूर्ण संवैधानिक कामकारबाही अन्योलमा परेका छन् । प्रदेश सरकारको अध्यादेश ल्याउने तयारी र एमालेभित्रको मुख्यमन्त्री परिवर्तनको कसरतसमेत प्रदेश प्रमुख नियुक्तिसँग जोडिएको अवस्थामा संघीय सरकारको ढिलाइले प्रदेशको राजनीतिक तथा प्रशासनिक अन्योल थप लम्बिने देखिएको छ ।