काठमाडौं । दुई दशकअघि नेपाली फिल्म क्षेत्रमा लोकप्रियता कमाएका कलाकारको अभिनय रहेका दुई नेपाली फिल्म ‘सारथी’ र ‘ककाकिकी’ शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आएका छन् ।
कुमार गजुरेलको निर्देशनमा बनेको ‘सारथी’मा उत्तम प्रधान र निरुता सिंह मुख्य भूमिकामा छन् । कुनै समय सुपरहिट फिल्म ‘दर्पण छायाँ’बाट दर्शकमाझ लोकप्रिय बनेको यो जोडी २२ वर्षपछि पुनः पर्दामा एकसाथ देखिएको हो ।
फिल्ममा उत्तम र निरुताले श्रीमान्-श्रीमतीको भूमिका निर्वाह गरेका छन् । आमाको माया, सन्तानप्रतिको समर्पण र प्रेमकथालाई मुख्य विषय बनाइएको फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी फिल्मका निर्माता हुन् ।
त्यस्तै, बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको ‘ककाकिकी’ हास्यप्रधान फिल्म हो । फिल्ममा तृप्ति नाडकर, गौरी मल्ल र रेखा थापालगायतका कलाकारको अभिनय छ ।
गाउँमा अस्पताल निर्माण गर्ने उद्देश्यले गाउँलेहरूले बैंक लुट्ने योजना बनाएको कथामा आधारित फिल्ममा हास्य र मनोरञ्जनलाई प्राथमिकता दिइएको छ । श्रद्धा प्रसाईं र सुमित्रा थापा फिल्मका निर्माता हुन् ।
प्रदर्शनमा आएका दुई फिल्ममध्ये शो संख्यामा ‘ककाकिकी’ अगाडि देखिएको छ । फिल्मले देशभर ८० भन्दा बढी शो पाउँदा ‘सारथी’ले ५० शो पाएको छ ।
तर, शो संख्या बढी भए पनि ‘ककाकिकी’को टिकट बुकिङ अपेक्षाअनुसार देखिएको छैन । ‘सारथी’को अवस्था पनि उस्तै छ । दुवै फिल्मका बिहानी शोमा दर्शकको उपस्थिति कमजोर रहेको प्रारम्भिक विवरणले देखाएको छ ।
पुराना लोकप्रिय कलाकारको पुनरागमन र फरक विषयवस्तुका कारण दर्शकमाझ चासो सिर्जना गर्ने अपेक्षा गरिएका दुवै फिल्मको व्यावसायिक भविष्य भने अब दर्शकको प्रतिक्रियामा निर्भर रहनेछ ।
विशेषगरी उत्तम प्रधान र निरुता सिंहको २२ वर्षपछिको सहकार्यले ‘सारथी’प्रति दर्शकको आकर्षण कति बढाउन सक्छ र हास्यप्रधान कथामा बनेको ‘ककाकिकी’ले कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो फिल्म क्षेत्रले राखेको छ ।