काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार तथा खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको छ ।
दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी शुक्रबार टर्च तथा ट्रफी टुरको औपचारिक शुभारम्भ गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको टर्च यात्रा श्रीस्थानको ज्वालाबाट प्रज्वलित टर्च कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव रविन चन्दले म्याराथन धावक हरिबहादुर रोकायालाई हस्तान्तरण गरेसँगै अघि बढेको हो ।
दैलेखबाट सुरु भएको टर्च तथा ट्रफी टुर प्रतियोगिताका खेल सञ्चालन हुने कालीकोट हुँदै जुम्लासम्म पुग्ने कार्यक्रम छ । टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा तथा कराते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन् ।
जुम्लामा अल्ट्रा धाविका सुनमाया बुढा पनि टोलीमा सहभागी हुनेछन् । कालीकोट र जुम्लामा टर्च तथा ट्रफीसहित नगर परिक्रमा र प्रचारात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
राष्ट्रियस्तरका चर्चित खेलाडीको सहभागिताले प्रतियोगिताप्रति खेलप्रेमी तथा सर्वसाधारणको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
टर्च तथा ट्रफी टुर समापनपछि मंसिर १५ गते कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले भव्य समारोहबीच टोलीको स्वागत तथा ट्रफी अनावरण गर्ने कार्यक्रम छ ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ गतेदेखि कर्णाली प्रदेशमा औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गतका ३२ खेलमध्ये १० खेल भने मंसिर ८ गतेदेखि नै सञ्चालन भइरहेका छन् ।
लामो समयदेखि राष्ट्रिय खेलकुद आयोजना गर्ने प्रतीक्षामा रहेको कर्णालीमा प्रतियोगिताको तयारीसँगै खेल गतिविधि पनि तीव्र बन्दै गएको छ ।
श्रीस्थानको प्राकृतिक अखण्ड ज्वालाबाट टर्च प्रज्वलन गरी सुरु गरिएको यात्राले खेलकुदलाई धार्मिक तथा पर्यटकीय सम्पदासँग जोड्ने प्रयास गरेको छ । कर्णालीका विभिन्न जिल्लामा पुग्ने टर्च तथा ट्रफी टुरले राष्ट्रिय खेलकुदको प्रचारसँगै प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।