काठमाडौं । नेपाल-भारत सम्बन्धका विभिन्न पक्ष पुनरावलोकन गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन लामो समयदेखि अलपत्र परिरहेका बेला नेपालले दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस हुने अपेक्षा कायमै राखेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ईपीजी प्रतिवेदन नेपाल र भारतका दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुने विश्वास व्यक्त गरेको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ईपीजी गठन हुनुका मूलभूत उद्देश्यअनुसार द्विपक्षीय विषयमा दुवै पक्षले संयुक्त रूपमा कामलाई निरन्तरता दिनुपर्ने नेपालको धारणा रहेको बताए ।
उनले भने, “ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ ।”
भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले गत सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजी प्रतिवेदन पुरानो भइसकेको र यसको औचित्य समाप्त भएको आशयको अभिव्यक्ति दिएका थिए । त्यसपछि नेपालले प्रतिवेदनको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।
ईपीजीसम्बन्धी विषय परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि स्पष्ट पारेको मन्त्रालयले जनाएको छ ।
सन् २०१६ मा गठन भएको ईपीजीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षको अध्ययन गरी सन् २०१८ मा प्रतिवेदन तयार पारेको थियो । तर, प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न अस्वीकार गरेपछि अहिलेसम्म दुवै देशका प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा पेस हुन सकेको छैन ।
प्रतिवेदन बुझाउन लामो समयसम्म प्रयास गर्दा पनि सफलता नपाएपछि ईपीजीका नेपालतर्फका संयोजक भेषबहादुर थापाले २०८३ जेठ २१ गते प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्रमन्त्री खनाललाई बुझाएका थिए ।
ईपीजी गठन हुँदा प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको थियो । तर, भारतीय प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न नमानेपछि यसको भविष्य अन्योलमा परेको छ ।
नेपालले भने ईपीजी गठनको उद्देश्य र द्विपक्षीय सम्बन्धका विषयलाई अघि बढाउन प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस हुनुपर्ने अपेक्षा दोहोर्याएको छ ।