काठमाडौं । भोटेकोशी बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज १ गते घोषणा हुने भएको छ । आन्तरिक राजस्व विभागले भदौ महिनाभरका कारोबारमध्येबाट ३३ जना विजेता छनोट गरी पुरस्कार प्रदान गर्ने तयारी गरेको हो ।
करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले सरकारले नयाँ आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको थियो । साउन १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत भदौ १६ गते पुरस्कार घोषणा गर्ने तयारी भए पनि भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि कार्यक्रम स्थगित गरिएको थियो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले असोज १ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन् ।
३१ जनालाई दैनिक पुरस्कार, दुई जनालाई बम्पर
विभागका अनुसार भदौ १ देखि १५ गतेसम्म बिल-बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिन एक जनाका दरले १५ जना विजेता छनोट गरिनेछ ।
प्रत्येक विजेताले एक लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाउनेछन् । सोही अवधिका सहभागीमध्येबाट एक जनालाई १० लाख रुपैयाँ राशिको बम्पर प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि १६ जना विजेता छनोट गरिनेछ । उनीहरूले पनि एक लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाउनेछन् । यस अवधिका सहभागीमध्येबाट थप एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिने विभागले जनाएको छ ।
यसरी असोज १ गते भदौ महिनाका लागि एक लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना विजेता र १०-१० लाख रुपैयाँका दुई जना बम्पर विजेता गरी जम्मा ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।
कसरी सहभागी हुने ?
करदाता प्रोत्साहन पुरस्कारमा सहभागी हुन उपभोक्ताले एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ । विभागले कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्न आग्रह गरेको छ ।
अनलाइनमार्फत गरिएको कारोबार स्वतः सरकारको करदाता प्रोत्साहन प्रणालीमा समावेश हुने विभागले जनाएको छ । नगदमा कारोबार गरेर सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गई बिल अपलोड गरेर उपहार कुपन लिनुपर्नेछ ।
भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले भदौ १५ गतेसम्म आफ्नो बिल प्रणालीमा दर्ता गरी उपहार कुपन लिइसकेको हुनुपर्नेछ । त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्म कारोबार गरेका उपभोक्ताले भदौ मसान्तको राति १२ बजेसम्म बिल प्रणालीमा दर्ता गरी उपहार कुपन प्राप्त गरिसक्नुपर्नेछ ।
पुरस्कारमा २५ प्रतिशत कर कटौती
करदाता प्रोत्साहन पुरस्कारको दुवै श्रेणीमा २५ प्रतिशत कर लाग्नेछ । एक लाख ३३ हजार ३३४ रुपैयाँका दैनिक पुरस्कार विजेताले कर कटाएर एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, १० लाख रुपैयाँ राशिका बम्पर विजेताले कर कटाएर सात लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
यसअघि साउन महिनामा ३३ जनाले करदाता प्रोत्साहन पुरस्कार जितेका थिए । उनीहरूको विजेता छनोट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गरेका थिए ।