काठमाडौं । फिल्म ‘जलाकी’को गीत ‘चाँदी जलप’ दर्शकमाझ लोकप्रिय बनेसँगै फिल्मको विदेशमा समेत माग बढेको छ। आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री भएको छ।
दुई महिनाअघि युट्युबमा सार्वजनिक भएको ‘चाँदी जलप’ गीतले झन्डै ६० लाख भ्युज प्राप्त गरिसकेको छ। त्यस्तै, गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन्। गीतको बढ्दो लोकप्रियताले फिल्मको अन्तर्राष्ट्रिय बजारमा समेत सकारात्मक प्रभाव पारेको निर्माण पक्षको विश्वास छ।
निर्देशक अशोक थापा मगरका अनुसार यसै साता फिल्मको अमेरिका र क्यानडाको प्रदर्शन अधिकार पिएनएम एलएलसीले खरिद गरेको हो। ती दुई देशमा फिल्म कहिलेदेखि प्रदर्शन गर्ने भन्ने विषय वितरक र निर्माताबीचको छलफलपछि तय गरिने उनले बताएका छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा उपासना सिंह ठकुरी, सोनम ताप्देन, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्कबहादुर पुन र लुनिभा तुलाधरलगायतका कलाकारको अभिनय रहेको छ। अभिनेता विजय लामा फिल्ममा विशेष भूमिकामा देखिनेछन्।
फिल्मको लेखन तथा सम्पादनसमेत निर्देशक अशोक थापा मगरले नै गरेका हुन्। ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर, सुस्मिता बुढाथोकी र राधा थापा फिल्मका निर्माता हुन्।
मगर समुदायको संस्कृति र आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर प्रेमकथा प्रस्तुत गरिएको फिल्म ‘जलाकी’ मंसिर ४ गतेदेखि नेपाली सिनेमा घरमा प्रदर्शनमा आउने तयारीमा छ। गीतले पाएको लोकप्रियताले फिल्मको प्रदर्शनप्रति दर्शकको चासो बढाएको देखिन्छ।