काठमाडौं । स्पेनको मध्य क्षेत्रमा दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। बुधबार बिहान म्याड्रिडबाट सेभिया गइरहेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटना म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने मोरा र ओर्गाज नगरपालिकाबीच भएको बताइएको छ। दुर्घटनापछि उद्धारका लागि दर्जनौँ एम्बुलेन्स परिचालन गरिएको थियो भने गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्याइएको थियो।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको कारण हुन सक्ने प्रारम्भिक विवरण छ। निजी रेल सञ्चालक कम्पनी इरियोले सञ्चालन गरेको रेलमा १४७ जना यात्रु सवार थिए। प्रणालीमा समस्या आएपछि उक्त रेल ट्र्याकमै रोकिएको थियो।
मन्त्री पुएन्तेका अनुसार म्याड्रिडस्थित २४ घण्टा सञ्चालन हुने नियन्त्रण केन्द्रले रेल सञ्चालनको जिम्मेवारी सम्हालेको थियो। तर, गति सीमा नतोकी रेलहरूलाई पुनः सञ्चालन गर्न निर्देशन दिइएको निर्णय अस्पष्ट र बुझ्न कठिन रहेको उनले बताएका छन्।
इरियोले आफ्नो रेललाई स्पेनको सरकारी रेल कम्पनी रेन्फेले सञ्चालन गरेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको जनाएको छ। रेन्फेको रेलमा ३९७ जना यात्रु सवार थिए।
दुर्घटनामा बाँच्न सफल यात्रुहरूले घटनास्थलको अवस्था निकै भयावह रहेको बताएका छन्। ठक्करका कारण यात्रुहरू उछिट्टिएको, केही यात्रु डिब्बाभित्रै फसेको र बाहिर निस्कन झ्याल फुटाउनुपरेको उनीहरूको भनाइ छ। दुर्घटनामा रेलको एउटा डिब्बामा आगलागीसमेत भएको थियो।
दुर्घटनास्थलका तस्बिरमा रेलको लिकको एउटा भाग डिब्बाभित्र छिरेको देखिएको छ। भग्नावशेषमा फसेका यात्रुको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो। मृतकको पहिचान गर्न केहीको आफन्तबाट डीएनए नमुना संकलन गर्नुपर्ने स्पेनको सिभिल गार्डले जनाएको छ।
दुर्घटनापछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनास्थलको भ्रमण गर्दै देश शोकमा रहेको बताएका छन्। दुर्घटनाले धेरै परिवारको जीवन तहसनहस बनाएको र उनीहरूको पीडा असह्य रहेको उनको भनाइ छ।
यो दुर्घटना सन् २०१३ यताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटना भएको बताइएको छ। सन् २०१३ मा उत्तरपश्चिमी स्पेनको सान्टियागो दे कम्पोस्टेलानजिकै भएको रेल दुर्घटनामा ८० जनाको मृत्यु भएको थियो। यसअघि जनवरीमा स्पेनको कोर्डोबानजिकै भएको अर्को रेल दुर्घटनामा ४६ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ।
यसैबीच, स्पेनमा भएको रेल दुर्घटनाप्रति नेपाल सरकारले पनि दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार राति सामाजिक सञ्जाल एक्समार्फत शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ। मन्त्रालयले घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै दुर्घटनाबाट प्रभावित स्पेन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाएको छ।