काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को ट्रेलरले युट्युबमा उत्साहजनक प्रतिक्रिया पाएको छ।
फिल्म प्रदर्शनमा आउनु केही दिनअघि सार्वजनिक गरिएको ट्रेलरले तीन दिनमै १५ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको निर्माण पक्षले जनाएको छ। ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउनुका साथै निखिलको एक्सन प्रस्तुतिको समेत प्रशंसा भइरहेको छ।
युट्युबमा ट्रेलरले भ्यूजसँगै ट्रेन्डिङमा पनि स्थान बनाएको छ। नेपालमा ट्रेन्डिङको शीर्षस्थानमा पुगेको ट्रेलर यूएई, कतार, बहराइन, ओमान, कुवेत, अस्ट्रेलिया, क्यानडा, हङकङ, मलेसिया, बेलायत, दक्षिण कोरिया र जापानलगायत १३ देशमा समेत ट्रेन्डिङमा रहेको जनाइएको छ।
१३ देशमा ट्रेलर ट्रेन्डिङमा आएपछि फिल्मप्रति नेपालसँगै विदेशमा रहेका नेपाली दर्शकको चासो बढेको निर्माण पक्षको दाबी छ।यसैबीच, फिल्मको विदेश प्रदर्शन अधिकार पनि बिक्री भइसकेको छ। यूएई, कतार, बहराइन, ओमान, कुवेत र साउदी अरबमा फिल्म प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शन भएको एक सातापछि अर्थात् अक्टोबर १ तारिखदेखि मध्यपूर्वका देशमा फिल्म प्रदर्शन गर्ने तयारी छ।
‘निखिल उप्रेती प्रोडक्सन’को ब्यानरमा निर्माण भएको फिल्ममा निखिल उप्रेतीसँगै पूर्णिका सिंजापति, सजिना श्रेष्ठ, प्रमोद अग्रहरी, ध्रुव कोइराला, सञ्जय गुप्तालगायत कलाकारको अभिनय छ। भारतीय कलाकार दीपराज राणा, रघु बाबु र रघु कारुमन्चीलगायतको पनि फिल्ममा अभिनय रहेको छ।
कृष्ण भट्टराई निर्माता र मिथिलेश तिवारी कार्यकारी निर्माता रहेको ‘आचार्य’ यही शुक्रबार, ९ असोजदेखि नेपाली सिनेमा हलमा प्रदर्शनमा आउँदैछ।