एजेन्सी । इरानसँग जारी युद्धका कारण अमेरिकाको सैन्य खर्च निरन्तर बढ्दै गएको छ। अमेरिकी सेन्ट्रल कमान्डको पछिल्लो अनुमानअनुसार सेप्टेम्बर ३ सम्म इरान युद्धमा अमेरिकाले ४३ अर्ब ६० करोड अमेरिकी डलर खर्च गरिसकेको छ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता युद्धको आर्थिक भार बढ्दै गएको हो। अमेरिकी कंग्रेसनल बजेट कार्यालयले अगस्ट १ सम्मको खर्च ३८ अर्ब डलरभन्दा बढी रहेको अनुमान गरेको थियो। त्यसपछि एक महिनाभन्दा केही बढी अवधिमै कुल खर्चमा थप वृद्धि भएको हो।
पछिल्लो विवरणअनुसार अमेरिकी खर्चको सबैभन्दा ठूलो हिस्सा हतियार तथा क्षेप्यास्त्रमा भएको छ। हतियारमा मात्रै २८ अर्ब १० करोड डलर खर्च भएको अमेरिकी सेन्ट्रल कमान्डको अनुमान छ। अगस्ट १ सम्मको अघिल्लो अनुमानमा हतियार खर्च २१ अर्ब ७० करोड डलर रहेको थियो। अर्थात् एक महिनाभन्दा केही बढी अवधिमा हतियार तथा क्षेप्यास्त्रमा भएको खर्च करिब ६ अर्ब ४० करोड डलरले बढेको देखिन्छ।
विशेषगरी इरानी क्षेप्यास्त्र तथा ड्रोनलाई रोक्न प्रयोग हुने प्रतिरक्षात्मक क्षेप्यास्त्रको प्रयोग उल्लेखनीय रूपमा बढेको छ। प्याट्रियट र थाडजस्ता प्रणालीका इन्टरसेप्टरको माग बढ्दा अमेरिकी सैन्य भण्डारमा समेत दबाब परेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
अमेरिकी सेन्ट्रल कमान्डको विवरणमा युद्धपोत, विमान तथा सैन्य अखडाको सञ्चालन खर्चसँगै क्षतिग्रस्त उपकरण र सैनिकको उपचारसम्बन्धी खर्च पनि समेटिएको छ। तर मध्यपूर्वस्थित अमेरिकी सैन्य अखडामा इरानी आक्रमणबाट भएको सम्पूर्ण भौतिक क्षतिको लागत भने ४३ अर्ब ६० करोड डलरको अनुमानमा समावेश गरिएको छैन।
अमेरिकी रक्षा मन्त्रालयका महानिरीक्षकको प्रतिवेदनअनुसार इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, इराक, ओमान र जोर्डनस्थित अमेरिकी सैन्य संरचनामा सयौँ भवन तथा अन्य संरचना क्षतिग्रस्त वा नष्ट भएका छन्। युद्धको आर्थिक भारसँगै अमेरिकी सैनिकले मानवीय क्षतिसमेत व्यहोरेका छन्। अमेरिकी रक्षा तथ्यांकअनुसार हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ८३० भन्दा बढी घाइते भएका छन्।
यसअघि अमेरिकी कंग्रेसनल बजेट कार्यालयले युद्धको तीव्रता कायम रहेमा अमेरिकी रक्षा खर्च प्रत्येक महिना करिब ३ अर्ब डलर वा त्यसभन्दा बढी थपिन सक्ने अनुमान गरेको थियो। उक्त अनुमानमा लामो अवधिको स्वास्थ्य सेवा तथा घाइते सैनिकसँग सम्बन्धित भविष्यका खर्च भने समावेश छैनन्।
युद्धको प्रभाव अमेरिकी सैन्य बजेटमा मात्र सीमित छैन। होर्मुज जलडमरूमध्य र लाल सागर हुँदै हुने ऊर्जा तथा व्यापारिक ढुवानीमा आएको अवरोधले तेलको मूल्य र विश्वव्यापी बजारमा समेत दबाब बढाएको छ। अमेरिकी कंग्रेसनल बजेट कार्यालयले युद्धका कारण ऊर्जा ढुवानी प्रभावित हुँदा आगामी महिनाहरूमा अमेरिकी मुद्रास्फीतिमा समेत असर पर्न सक्ने जनाएको छ।
यसबीच अमेरिकी प्रशासनले रक्षा क्षेत्रका लागि ठूलो बजेट प्रस्ताव अघि सारेको छ भने युद्ध तथा अन्य रक्षा प्राथमिकताका लागि थप ९५ अर्ब डलरको बजेट माग गरिएको छ। यसले इरान युद्ध अमेरिकी अर्थतन्त्र र रक्षा बजेटमाथि थप ठूलो वित्तीय भारका रूपमा देखा परेको संकेत गरेको छ।
युद्ध लम्बिँदै जाँदा महँगा क्षेप्यास्त्र र सैन्य सामग्रीको प्रयोग, सैन्य संरचनामा भएको क्षति तथा थप सैन्य तयारीका कारण अमेरिकाको कुल खर्च अझ बढ्न सक्ने देखिन्छ।