एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभए ‘ध्वस्त पार्ने’ चेतावनी दिएको भोलिपल्ट इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभाबाट त्यसको कडा प्रतिवाद गरेका छन्।
महासभालाई सम्बोधन गर्दै पेजेस्कियानले अमेरिकी दबाब र धम्कीका कारण इरान नझुक्ने बताएका छन्। उनले ट्रम्पको अभिव्यक्तिलाई ‘दादागिरीको मानसिकता’ को संज्ञा दिँदै इरानी जनता दबाबसामु नझुक्ने बताएका हुन्। पेजेस्कियानले अमेरिकाले इरानलाई आतंकवादको आरोप लगाए पनि इरानी जनता नै आतंकवादका पीडित भएको दाबी गरे। उनले युद्धका क्रममा मारिएका इरानी नेता आयतोल्लाह अली खामेनी तथा अन्य पीडितका तस्वीर महासभामा प्रस्तुत गर्दै अमेरिकी–इजरायली सैन्य कारबाहीको विरोध गरे।
‘हामीमाथि हमला भयो, तर हामी घुँडा टेकेनौँ’ भन्ने सन्देश दिँदै पेजेस्कियानले इरानमाथि सैन्य दबाब र धम्की बढाएर आफूहरूलाई झुकाउन नसकिने बताए। तर कडा अभिव्यक्तिका बीच पेजेस्कियानले कूटनीतिक समाधानको सम्भावना भने अस्वीकार गरेनन्। उनले अमेरिका-इरान तनाव समाधानका लागि वार्ता र संवाद आवश्यक रहेको बताएका छन्। यद्यपि, धम्की र सैन्य दबाबको वातावरणमा वार्ता स्वीकार्य नहुने उनको अडान छ।
यसअघि ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै इरानसँग सम्झौता हुनुपर्ने र त्यसो नभए इरानलाई ‘ध्वस्त पार्न’ सकिने चेतावनी दिएका थिए। उनले इरानसँगको युद्ध अन्त्यका लागि सम्झौताको सम्भावना रहेको पनि बताएका थिए। रोचक पक्ष के छ भने, ट्रम्पको धम्की र पेजेस्कियानको कडा प्रतिवादकै बीच अमेरिकी र इरानी अधिकारीबीच महासभाको साइडलाइनमा अप्रत्यक्ष वार्ता भएको छ। अमेरिकी विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरले इरानी अधिकारीहरूसँग करिब तीन घण्टा छलफल गरेका थिए। ट्रम्पले उक्त भेटलाई ‘धेरै राम्रो’ र फलदायी भएको बताएका छन्।
तर वार्ताका विषयमा दुई देशबीच अझै ठूलो दूरी कायम रहेको इरानी अधिकारीहरूले बताएका छन्। इरानले अमेरिकी सैन्य दबाब कम गर्नुपर्ने, बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुपर्ने तथा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने माग अघि सारेको छ। यस्तै, पेजेस्कियानले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्यको विषय पनि उठाएका छन्। इरानले अमेरिकी सैन्य दबाब र नाकाबन्दी हटे जलमार्ग खोल्ने संकेत दिँदै आएको छ।
यसरी एकातिर वासिङ्टन र तेहरानबीच धम्की र कडा आरोप-प्रत्यारोप जारी छ भने अर्कोतिर युद्ध अन्त्यका लागि कूटनीतिक सम्पर्कसमेत अघि बढिरहेको छ। राष्ट्रसंघको महासभामा पेजेस्कियानको भाषणले दुई देशबीचको टकराव र सम्भावित वार्ता दुवैलाई एकैपटक सतहमा ल्याएको छ।