काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’को टिजर सार्वजनिक भएको छ। झन्डै दुई मिनेट लामो टिजरमा एक्सनलाई मुख्य प्राथमिकता दिइएको छ।
विराजको भ्वाइस ओभरबाट सुरु हुने टिजरमा उनका छोरा तथा अभिनेता समीर भट्टका एक्सन दृश्यलाई विशेष स्थान दिइएको छ। टिजरमा संवादभन्दा गोली, किक र द्वन्द्वका दृश्य धेरै देखिन्छन्। टिजरले फिल्मको कथावस्तुबारे भने धेरै जानकारी दिँदैन। बरु फिल्ममा प्रस्तुत गरिएका एक्सन दृश्य र पात्रबीचको द्वन्द्वतर्फ दर्शकको ध्यान केन्द्रित गरिएको छ।
टिजरको मुख्य आकर्षण भने विराज भट्ट र समीर भट्ट एकसाथ देखिएको दृश्य हो। उनीहरूलाई दुई शक्तिका रूपमा प्रस्तुत गर्दै युद्धको फैसला दुईमध्ये एकको अन्त्यले गर्ने संकेत गरिएको छ। यसले फिल्ममा विराज र समीरबीच नै मुख्य टकराव हुने सम्भावना देखाएको छ।
फिल्ममा विराज र समीरसँगै अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाहलगायतका कलाकारको अभिनय छ। सरस्वती भट्ट निर्माता रहेको फिल्म असोज ३० गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्म २०८१ सालमा प्रदर्शन भएको सफल फिल्म ‘१२ गाउँ’को सिक्वेल हो।
फिल्ममा महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन तथा सन्तोष सरकारको लेखन रहेको छ। द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन्। कालाचरणको पार्श्व संगीत तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको फिल्मले एक्सनलाई आफ्नो मुख्य आकर्षण बनाएको टिजरबाट देखिन्छ।