काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘बाः एक योद्धा’ले प्रिमियरमै उत्साहजनक प्रतिक्रिया पाएको छ ।
काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा मंगलबार साँझ आयोजित प्रिमियरमा सहभागी कलाकार, फिल्मकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिले फिल्मको कथावस्तु, अभिनय, छायांकन, संगीत र प्रस्तुतिको प्रशंसा गरेका छन् । प्रिमियरमा सहभागी अभिनेता हरिवंश आचार्यले फिल्मले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिए । उनले फिल्म हेर्दा मनमनै धेरै रोएको बताउँदै नेपाली समाजमा सन्तानका लागि बाबुआमाले गर्ने त्याग र संघर्षलाई फिल्मले मार्मिक ढंगले प्रस्तुत गरेको बताए ।
पूर्वगृहमन्त्री तथा अधिवक्ता ओमप्रकाश अर्यालले ‘बाः एक योद्धा’लाई उत्कृष्ट फिल्मका रूपमा व्याख्या गरे । नेपाली समाजको जनजीवन, कथावस्तु र फिल्मले दिन खोजेको सन्देश प्रभावकारी रहेको उनको प्रतिक्रिया थियो । त्यस्तै, अभिनेत्री ऋचा शर्माले फिल्मलाई ‘एकदमै मिठो’ भन्दै अभिनेता दिव्यदेवको अभिनयको विशेष प्रशंसा गरिन् । उनले दिव्यदेवलाई फिल्मको ‘सुपरस्टार’को संज्ञा दिँदै उनको अभिनय क्षमताले फिल्ममा प्रभाव छाडेको बताइन् ।
कान्स विजेता फिल्म ‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पा थिङ लामाले पनि फिल्मले आफूलाई भावुक बनाएको बताइन् । विशेषगरी दिव्यदेवले बोलेको ‘तिम्रो एक खिल्ली चुरोटले मलाई ऋणी बनायो’ भन्ने संवादले आफूलाई निकै छोएको उनको भनाइ थियो । उनले बुवाको भूमिकामा दिव्यदेवको अभिनयलाई असाधारण भएको बताइन् ।
हरि लम्सालको निर्देशन तथा वसन्त लम्सालको लगानीमा बनेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायत कलाकारको अभिनय छ ।
फिल्मले सन्तानका लागि बाबुले गर्ने त्याग, संघर्ष र बुढेसकालमा सन्तानबाटै भोग्नुपर्ने पीडालाई कथाको केन्द्रमा राखेको छ । पारिवारिक सम्बन्ध, सन्तानप्रतिको अभिभावकीय समर्पण र बदलिँदो सामाजिक परिवेशलाई प्रस्तुत गर्ने ‘बाः एक योद्धा’ यही शुक्रबार अर्थात् ९ असोजदेखि प्रदर्शनमा आउँदैछ।