काठमाडौं । अविरल वर्षाका बीच शुक्रबार एकैदिन तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत ‘आचार्य’, ‘बास् एक योद्धा’ र ‘जदौ’ देशभरका चलचित्र हलमा रिलिज भएका हुन् ।
तीनवटै फिल्म फरक कथावस्तु र जनरामा आधारित छन् । अभिनेता निखिल उप्रेतीको लेखन, निर्देशन, निर्माण तथा मुख्य अभिनय रहेको ‘आचार्य’ एक्सन-ड्रामा फिल्म हो । फिल्ममा निखिलसँगै पूर्णिका सिजापती, दीपजंग राणा, रोहित चौधरीलगायत कलाकारको अभिनय रहेको छ । ‘आचार्य’बाट पूर्णिका सिजापतीले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन् । यसै फिल्ममार्फत निखिल उप्रेती पनि लामो समयपछि ठूलो पर्दामा फर्किएका छन् ।
त्यस्तै, हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको ‘बास् एक योद्धा’ पारिवारिक तथा भावनात्मक कथामा आधारित फिल्म हो । फिल्मले सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग र संघर्ष तथा वृद्धावस्थामा भोग्नुपर्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ । फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, सागर खनाल र अनिल बुढाथोकीलगायत कलाकारको अभिनय छ ।
त्यसैगरी, ‘जदौ’ प्रेम, जातीय विभेद, अन्तरजातीय सम्बन्ध र पारिवारिक द्वन्द्वमा आधारित सामाजिक ड्रामा फिल्म हो । अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा र राजश्री थापालगायत कलाकारले अभिनय गरेका छन् ।
वर्षाका कारण देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भइरहे पनि तीनवटै फिल्म शुक्रबारदेखि नियमित प्रदर्शनमा आएका छन् । फरक विषयवस्तु र प्रस्तुतिका यी फिल्मले नेपाली चलचित्रको बजारमा कस्तो प्रतिक्रिया पाउँछन् भन्ने चासोको विषय बनेको छ।