काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको कुल सम्पत्ति एक वर्षमा झन्डै २ हजार ४९० करोड भारतीय रुपैयाँले घटेको छ। हुरुन इन्डिया रिच लिस्ट २०२६ अनुसार शाहरुखको कुल सम्पत्ति अहिले १० हजार करोड भारतीय रुपैयाँमा झरेको छ।
हुरुन इन्डियाको सन् २०२५ को सूचीमा शाहरुखको कुल सम्पत्ति १२ हजार ४९० करोड रुपैयाँ उल्लेख थियो। यस आधारमा एक वर्षको अवधिमा उनको सम्पत्तिमा करिब २ हजार ४९० करोड रुपैयाँको कमी आएको हो।
सम्पत्तिमा गिरावट आए पनि शाहरुख भारतका सबैभन्दा धनी अभिनेता बनेका छन्। सूचीमा अमिताभ बच्चन ४ हजार करोड रुपैयाँ सम्पत्तिसहित दोस्रो स्थानमा छन्। त्यस्तै, सलमान खान ३ हजार करोड र ऋतिक रोशन २ हजार ५०० करोड रुपैयाँ सम्पत्तिसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्। शाहरुखको कुल सम्पत्तिमा चलचित्र तथा विज्ञापनबाट हुने आम्दानीसँगै उनको निर्माण कम्पनी रेड चिलीज इन्टरटेनमेन्ट र नाइट राइडर्स स्पोर्ट्सलगायतका व्यावसायिक लगानी पनि समावेश छन्।
यसैबीच, शाहरुख अहिले आफ्नो आगामी चलचित्र ‘किंग’ को छायांकनमा व्यस्त छन्। सिद्धार्थ आनन्दको निर्देशनमा निर्माण भइरहेको यो एक्सन-थ्रिलरमा शाहरुखसँगै दीपिका पादुकोण, सुहाना खान, अभय वर्मा र अभिषेक बच्चनलगायत कलाकारको अभिनय रहने बताइएको छ।
सन् २०२३ मा ‘डङ्की’ प्रदर्शन भएपछि केही समय पर्दाबाट टाढा रहेका शाहरुख ‘किंग’ मार्फत पुनः दर्शकमाझ फर्किँदैछन्। चलचित्र आगामी डिसेम्बर २४ मा प्रदर्शन हुने तय भएको छ। हालै सामाजिक सञ्जाल एक्समा आयोजित ‘आस्क मी एनिथिङ’ कार्यक्रममा शाहरुखले ‘किंग’ को प्रदर्शन मिति नसर्ने स्पष्ट पारेका थिए। उनले चलचित्रलाई दर्शकलाई सन्तुष्टि दिने गरी निर्माण गरिरहेको बताएका छन्।
यसअघि ‘पठान’, ‘जवान’ र ‘डङ्की’मार्फत लगातार चर्चामा रहेका शाहरुखको नयाँ चलचित्र ‘किंग’ लाई उनको आगामी फिल्मी यात्राका रूपमा समेत चासोका साथ हेरिएको छ।