काठमाडौं । अभिनेता सागर लम्साल ‘बले’ र उनको पुरानो फिल्म ‘पाँच पाण्डव’ अब एउटै मितिमा दर्शकमाझ आउने भएका छन्। निर्माणाधीन अवस्थामै आफूलाई फिल्मबाट हटाइएको ‘पाँच पाण्डव’सँग सागरले आफ्नो मुख्य भूमिका रहेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’मार्फत बक्स अफिसमा प्रतिस्पर्धा गर्ने भएका हुन्।
‘पाँच पाण्डव’ले बिहीबार तिहारलाई लक्षित गर्दै कात्तिक २० गते प्रदर्शन मिति घोषणा गरेको थियो। त्यसको करिब दुई घन्टापछि सागरको मुख्य भूमिका रहेको ‘डल्लेले इन्ट्री मार्यो’ पनि सोही मितिमा प्रदर्शन गर्ने घोषणा गरिएको हो। गत चैतमा सागरमाथि बलात्कारको आरोप लागेपछि उनलाई छायांकन भइरहेको फिल्म ‘पाँच पाण्डव’बाट हटाइएको थियो। त्यसअघि उनले फिल्मको करिब १० दिनको छायांकन गरिसकेका थिए। उनलाई हटाएपछि निर्माण पक्षले उनको स्थानमा पुनः छायांकन गरेको थियो।
‘पाँच पाण्डव’बाट निकालिएपछि निर्माण पक्षसँग सागर असन्तुष्ट रहेको बताइँदै आएको छ। यहीबीच ‘पाँच पाण्डव’ले प्रदर्शन मिति घोषणा गरेपछि सागरकै दबाबमा ‘डल्लेले इन्ट्री मार्यो’लाई पनि सोही मितिमा ल्याउने निर्णय गरिएको जनाइएको छ। राजु गिरीको निर्देशनमा बनेको ‘डल्लेले इन्ट्री मार्यो’ यसअघि गत वर्ष चैत २७ गते प्रदर्शन हुने तयारीमा थियो। तर, सागर पक्राउ परेपछि फिल्मको प्रदर्शन स्थगित गरिएको थियो।
यस फिल्ममा सागरले पहिलोपटक मुख्य भूमिकामा अभिनय गरेका छन्। साथै, उनले यही फिल्मका लागि अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक लिएको बताइएको छ। निर्देशक गिरीका अनुसार सागरलाई पारिश्रमिकबापत ३५ लाख रुपैयाँ दिइएको थियो। पत्रकार लक्ष्मण सुवेदीको पटकथा तथा संवाद रहेको फिल्ममा सागर लम्सालसँगै रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, ध्रुव कोइराला, रविन्द्र झा, कैलाश रावत, विशाल पहाडीलगायत कलाकारको अभिनय छ।
सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी निर्माता रहेको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन्। अब कात्तिक २० गते ‘पाँच पाण्डव’ र ‘डल्लेले इन्ट्री मार्यो’ एकैदिन प्रदर्शनमा आउने भएपछि यी दुई फिल्मबीचको बक्स अफिस प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।