काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक फेरि जोखिममा परेको छ । सडक सुरक्षाका लागि निर्माण गरिएको पुरानो सडकको ग्याबियन वाल भासिएपछि केही दिनअघि मात्रै सञ्चालनमा ल्याइएको नयाँ ट्र्याकसमेत जोखिममा परेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार नयाँ ट्र्याक खोलिएको स्थानभन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएको छ । ग्याबियन वाल भासिएपछि त्यसको असर नयाँ ट्र्याकमा समेत पर्न सक्ने प्राविधिकहरूले बताएका छन् ।
सडक विभागले पनि कृष्णभीरमा सडकको नदीतर्फ रहेको ग्याबियन वाल केही तल झरेको जनाएको छ । यद्यपि, हाल सञ्चालनमा रहेको सडकको माथिल्लो स्लोपमा भने तत्काल कुनै समस्या नदेखिएको विभागको भनाइ छ । सडक विभागको प्रोजेक्ट टिमले उक्त सडकखण्डको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।
तर, बेनीघाट रोराङ गाउँपालिका-७ का वडाध्यक्ष कुमार बस्नेतले नयाँ ट्र्याकलाई सपोर्ट गर्ने तल्लो भागको संरचना नै भासिएको भन्दै सडक अत्यन्तै जोखिमपूर्ण बनेको बताएका छन् । उनले सम्भावित दुर्घटनाबाट जोगिन यो सडक भएर यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । गत भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीरको सडकखण्ड कटानमा परेको थियो । सडक कटान भएपछि पृथ्वी राजमार्गमा लामो समय यातायात अवरुद्ध भएको थियो ।
त्यसपछि कटान भएको स्थानमा नयाँ ट्र्याक निर्माण गरी गत असोज १ गतेदेखि यातायात सञ्चालनमा ल्याइएको थियो । तर, नयाँ ट्र्याक सञ्चालनमा आएको केही दिनमै त्यसलाई सपोर्ट गर्ने तल्लो संरचना भासिएपछि कृष्णभीरमा पुनः सडक सुरक्षाको प्रश्न उठेको छ ।
अहिले सडक विभागले अवस्थाको अनुगमन गरिरहेको भए पनि ग्याबियन वाल भासिएको र लगातार वर्षा भइरहेकाले उक्त क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम कायमै रहेको छ।