काठमाडौं । फिल्म ‘झिँगेदाउ २’को नयाँ दशैं गीत सार्वजनिक गरिएको छ। तीज गीत ‘धागो छिन्यो चर्खाको’ले दर्शकको राम्रो साथ पाएपछि निर्माण पक्षले मंगलबार ‘ए माया नजिकै सर’ बोलको गीत सार्वजनिक गरेको हो।
यसपालिको हरितालिका तीजमा चर्चामा रहेको ‘धागो छिन्यो चर्खाको’ गीत युट्युबमा रिलिज भएको १२ दिनमा झन्डै ५० लाख पटक हेरिएको निर्माण पक्षले जनाएको छ। तीजको दिन मात्रै गीतमा ५ लाखभन्दा बढी भ्यूज थपिएको थियो। गीतमा आधारित टिकटक, रिल्स र शर्ट्ससमेत हजारौँको संख्यामा बनेका छन्।
नयाँ सार्वजनिक गीत ‘ए माया नजिकै सर’मा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारले स्वर दिएका छन्। दशैंको माहोललाई समेटिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्ट देखिएका छन्।
संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्टसँगै हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा र उत्तम केसीलगायतका कलाकारको अभिनय रहेको छ।
सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानीमा बनेको फिल्ममा विष्णु घिमिरे (कल्पित)को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको रहेको छ।
तीज गीतको लोकप्रियतापछि सार्वजनिक गरिएको दशैं गीतले फिल्मको प्रचारमा थप चर्चा बटुल्ने अपेक्षा निर्माण पक्षले गरेको छ।