काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशभर वर्षा भइरहेको छ। निरन्तरको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै विभिन्न स्थानमा पहिरो जाँदा सडक यातायातसमेत प्रभावित भएको छ।
मौसमविद्का अनुसार वर्षा गराउने प्रणाली अहिले नेपालको पूर्वी भू-भागबाट क्रमशः पश्चिमतर्फ सर्दै गएको छ। प्रणाली पश्चिमतर्फ सर्दै जाँदा लुम्बिनी, गण्डकी हुँदै सुदूरपश्चिमसम्म वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार शनिबार पूर्वी क्षेत्रमा वर्षाको मात्रा केही घट्न सक्ने भए पनि पश्चिमी भू-भागमा आज रातिदेखि वर्षा बढ्ने सम्भावना छ। लुम्बिनी र गण्डकीका जिल्लामा बुधबारदेखि नै वर्षा भइरहेको छ भने अब पश्चिमका थप जिल्लामा वर्षा बढ्ने अनुमान गरिएको छ।
मौसम विज्ञान विभागको जोखिम नक्साले पनि बागमतीदेखि पूर्वका जिल्लालाई पहेँलो तथा गण्डकीदेखि पश्चिमतर्फका उच्च पहाडी र हिमाली क्षेत्रलाई रातो संकेत गरेको छ। पहेँलो संकेतले मौसमको अवस्थाबारे नियमित जानकारी लिएर सतर्क रहनुपर्ने जनाउँछ भने रातो संकेतले बाढी तथा पहिरोको जोखिम रहेकाले आवश्यक प्रतिकार्यका लागि तयार रहनुपर्ने अवस्थालाई जनाउँछ।
यसैबीच, निरन्तरको वर्षाका कारण आगामी दुई दिन देशका विभिन्न साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार शुक्रबार गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको छ।
शनिबार भने बाढीको उच्च जोखिममा पर्ने जिल्लाको संख्या थप बढ्ने अनुमान गरिएको छ। नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा उच्च जोखिम रहने महाशाखाले जनाएको छ।
आइतबारदेखि सातै प्रदेश भएर बहने साना नदी तथा खोलामा समेत आकस्मिक रूपमा बहाव बढ्न सक्ने भएकाले नदी किनार तथा डुबानको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। यसैबीच सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
लगातारको वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा लिन र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।