काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा लगातार वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि पाँच जिल्लामा सार्वजनिक सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।
डडेल्धुरा, दार्चुला, डोटी, बैतडी र बाजुरा जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै आज बिहानदेखि भोलि बिहानसम्म लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका हुन् । निरन्तर वर्षा, भारी वर्षाको पूर्वानुमान तथा पछिल्लो मौसमी जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् ।
बाजुरामा शुक्रबारदेखि लगातार वर्षा भइरहेको र जिल्ला अति जोखिमयुक्त क्षेत्रमा परेकाले भोलि असोज ११ गते बिहान ७ बजेसम्म आकस्मिक अवस्थाबाहेक कुनै पनि सवारी साधन सञ्चालन नगर्न प्रशासनले अनुरोध गरेको छ । सम्भावित विपद्लाई मध्यनजर गर्दै बाजुरामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उच्च सतर्कतामा राखिएको छ । उद्धार टोली, कर्मचारी, स्वयंसेवक तथा आवश्यक उपकरण तयारी अवस्थामा राख्न जिल्लाका नौवटै स्थानीय तहलाई निर्देशन दिइएको छ ।
प्रशासनका अनुसार लगातारको वर्षाका कारण बाजुराको जनजीवन प्रभावित भएको छ । जिल्लाका एक सय ५० भन्दा बढी गाउँ तथा नौवटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । यस्तै, डडेल्धुरामा आज बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म, दार्चुलामा आजदेखि भोलि बिहान ६ बजेसम्म तथा डोटी र बैतडीमा आज बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
सम्बन्धित प्रशासन कार्यालयहरूले अत्यावश्यक तथा आकस्मिक अवस्थामा स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गरेका छन् । सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।