एजेन्सी । अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) बाट उत्पन्न हुन सक्ने जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र निर्माणका लागि छलफल अघि बढाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अपेक्षित शिखर बैठकअघि दुवै देशका आर्थिक अधिकारीबीच भएको वार्तामा ‘अमेरिका-चीन एआई संवाद’को प्रस्ताव अघि सारिएको हो।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ नेतृत्वको टोलीबीच न्युयोर्कस्थित जेपी मोर्गन चेजको मुख्यालयमा करिब आठ घण्टा वार्ता भएको थियो। वार्तापछि अमेरिकी अर्थमन्त्री बेसेन्टले व्यापार र एआईका विषयमा दुवै पक्षबीच ‘धेरै सफल संवाद’ भएको बताएका छन्।
प्रस्तावित एआई संवादअन्तर्गत एआई प्रविधिसँग सम्बन्धित सम्भावित घटना तथा राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने जोखिमबारे दुवै देशले एकअर्कालाई जानकारी गराउने संयन्त्र बनाउने विषयमा छलफल भएको छ। यस विषयमा थप वार्ता गर्ने सहमति पनि भएको बताइएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमले वार्तालाई स्पष्ट, गहन र रचनात्मक भनेको छ। सिन्ह्वाका अनुसार बैठकमा द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन, अघिल्ला सहमति कार्यान्वयन र व्यापारिक सम्बन्ध सुधारलगायत विषयमा छलफल भएको थियो।
वार्तामा केही वस्तुमा पारस्परिक शुल्क घटाउने तथा गैर–संवेदनशील वस्तुलाई व्यापार प्रतिबन्धबाट अलग राख्ने विषयमा पनि छलफल भएको अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बताएका छन्।
त्यसैगरी, दुर्लभ पृथ्वीका चुम्बक तथा महत्वपूर्ण खनिजको आपूर्ति निरन्तर कायम राख्ने विषयलाई अमेरिकी पक्षले प्राथमिकतामा राखेको छ। चीनले अमेरिकी कृषि सामग्री खरिद गर्ने यसअघिको प्रतिबद्धताको कार्यान्वयन तथा इरानमाथि अमेरिकाले लगाएको आर्थिक दबाब पनि छलफलका सम्भावित विषयका रूपमा रहेका छन्।
यसबीच अमेरिकी पूर्व उपसचिव कर्ट क्याम्पबेलले ट्रम्प-सी शिखर बैठकबाट तत्काल ठूलो उपलब्धिको अपेक्षा गर्नुभन्दा दुई देशबीच कायम व्यापार युद्धविरामलाई निरन्तरता दिने सम्भावनामा ध्यान दिनुपर्ने बताएका छन्।
ट्रम्प र सीले नोभेम्बरमा चीनको शेन्जेनमा हुने एपीईसी मञ्च तथा डिसेम्बरमा मियामीमा हुने जी-२० शिखर सम्मेलनमा भेट गर्ने अपेक्षा गरिएको छ।