काठमाडौं । आगामी असोज ८ देखि १० गतेसम्म देशका अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना रहेपछि सरकारले बाढी, पहिरो तथा अन्य विपद्को जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पारेको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदीको जलसतह, वर्षाको अवस्था र सम्भावित बाढीको जोखिमलाई ‘रियल टाइम’मा निगरानी गर्ने भएको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी हरेक घण्टा पूर्वसूचना अद्यावधिक गर्ने जनाएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार कुनै नदी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कस्तो प्रभाव पर्न सक्छ भन्ने प्राविधिक विश्लेषणका आधारमा सूचना प्रवाह गरिनेछ। उनले नागरिकको मोबाइलमा आउने एसएमएस अलर्टलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्। साथै, मौसम तथा नदीको अवस्था तीव्र रूपमा परिवर्तन हुन सक्ने भएकाले सर्वसाधारणलाई पूर्वसूचनाअनुसार सतर्क रहन आग्रह गरिएको छ।
यसैबीच, समुद्रमा विकसित हुन सक्ने ठूलो आँधी प्रणाली र त्यसको दिशामा हुन सक्ने परिवर्तनलाई समेत प्राधिकरणले निरन्तर निगरानी गरिरहेको छ। उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई ध्यानमा राख्दै रेड अलर्ट जारी गरिएको छ। मध्यपहाडी तथा तल्लो तटीय क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ।
जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा ओर्लिन आग्रह गरिएको छ। ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न तथा हेलिकप्टर उडानको पूर्वतयारीमा सतर्क रहनसमेत एडभाइजरी जारी गरिएको छ। बाढी तथा पहिरोको जोखिम बढेमा राजमार्ग र मुख्य सडकमा सवारी आवागमनसमेत रोक्न सकिने प्राधिकरणले जनाएको छ। शुक्रबार र शनिबार अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारण तथा यातायात व्यवसायीलाई सेवा सञ्चालनमा सतर्कता अपनाउन आग्रह गर्ने तयारी गरिएको छ।
पहिरोका कारण सडक अवरुद्ध भए तत्काल खुलाउन देशका मुख्य राजमार्गमा डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको छ। भारी वर्षाबाट कृषि क्षेत्रमा समेत क्षति पुग्न सक्ने भन्दै खेतमा पाकेको धानबाली तथा भण्डारण गरिएको अनाज सुरक्षित राख्न किसानलाई आग्रह गरिएको छ। कृषि मन्त्रालयमार्फत यससम्बन्धी छुट्टै एडभाइजरीसमेत जारी गरिएको छ।
प्राधिकरणले बाढी तथा डुबानका क्रममा भिडियो खिच्ने, टिकटक बनाउने वा सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने नाममा जोखिमपूर्ण स्थानमा नजान सर्वसाधारणलाई चेतावनी दिएको छ। बाढीले बगाएर ल्याएका दाउरा तथा अन्य सामग्री संकलन गर्न खोलामा पस्नेसमेत जोखिमपूर्ण हुने भएकाले त्यस्ता गतिविधि नगर्न आग्रह गरिएको छ।
सम्भावित विपद्लाई मध्यनजर गर्दै देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ। ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी तथा सम्भावित उद्धार र प्रतिकार्यको तयारीसमेत तीव्र पारिएको छ।