काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय लगानी नेपालमा भित्र्याउने प्रयास तथा दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित अर्थमन्त्री वाग्ले भारत गएका हुन् ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बिहीबार साँझ ५ बजे हुने भेटवार्तामा दुई देशबीचको आर्थिक सहकार्य तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी, भ्रमणको दोस्रो दिन शुक्रबार बिहान पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा अर्थमन्त्री वाग्ले सहभागी हुनेछन् । शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।
शुक्रबार साँझ साढे ७ बजे भारत व्यापार सम्वर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी हुनेछन् ।
भ्रमणको अन्तिम दिन शनिबार बिहान साढे ९ बजे भारतीय उद्योग परिसंघ अर्थात् सीआईआईले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । उक्त कार्यक्रममा नेपालमा भारतीय लगानी भित्र्याउने तथा दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
त्यसपछि शनिबार बिहान साढे ११ बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा अर्थमन्त्री वाग्ले सहभागी हुनेछन् । उनी शनिबार साँझ ४ बजे नेपाल फर्किने कार्यक्रम छ ।
अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा तथा इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारीलगायत सहभागी छन् ।
अर्थमन्त्रीको सचिवालयका अनुसार विपद्पश्चात्को पुनर्निर्माण, दुई देशबीचको आर्थिक सहकार्य तथा राजनीतिक र कूटनीतिक सम्बन्धका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ ।