काठमाडौं । माघे संक्रान्ति अर्थात् माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलर ३ मिनेट ५५ सेकेन्ड लामो रहेको छ।
ट्रेलरले सामाजिक सञ्जालमा भाइरल बन्ने चाहनाले मानिसलाई कति टाढासम्म पुर्याउन सक्छ भन्ने विषयलाई उजागर गर्छ। मुख्य पात्र गोर्खेको भूमिकामा सौगात मल्ल देखिएका छन्, जो सामाजिक सञ्जाल-विशेषगरी टिकटकमार्फत चर्चित बन्न जोखिमपूर्ण र अनौठा हर्कत गर्न बाध्य हुन्छन्। रिल लाइफमा प्रसिद्धि पाए पनि वास्तविक जीवनमा आउने संघर्ष र यथार्थसँगको टकराव नै चलचित्रको मुख्य कथावस्तु हो। चलचित्रले पछिल्लो समय नेपाली समाजमा बढ्दो ‘भाइरल संस्कृतिलाई’ व्यङ्ग्यात्मक शैलीमा प्रश्न उठाएको छ।
चलचित्रमा सौगात मल्लको जोडी अभिनेत्री सृष्टि श्रेष्ठसँग बाँधिएको छ। साथै,बुद्धि तामाङ,लक्ष्मी गिरी,राजाराम पौडेल,ऋषि धमला,रवि भुजेल,मिस पवी लगायत कलाकारहरूको अभिनय रहेको छ।
‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ निर्देशन गरिसकेका निगम श्रेष्ठ ले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन्। समसामयिक र घर-घरको कथाले दर्शकको मन जित्ने विश्वास निर्देशकले व्यक्त गरेका छन्।
चलचित्र एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुल को व्यानरमा निर्माण भएको हो। निर्मातामा अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जङ्ग कुँवर रहेका छन् भने सह-निर्मातामा निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल छन्।
रोचक, मर्मस्पर्शी र व्यङ्ग्यात्मक प्रस्तुति रहेको ट्रेलरले चलचित्रप्रति दर्शकको उत्साह बढाएको देखिन्छ। सामाजिक सञ्जालको प्रभाव र वास्तविक जीवनबीचको अन्तरलाई प्रस्तुत गर्ने ‘भाइरल गोर्खे’ माघे संक्रान्तिमा दर्शकमाझ कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ।