समाजको यथार्थ चित्रण गर्न र चेतना फैलाउने उद्देश्यसहित निर्माण गरिएको डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर शनिबार सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई विशेष च्यारिटी शो र फेस्टिभलमार्फत दर्शकमाझ पुर्याउने तयारी गरिएको छ ।
पोस्टरमा मुख्य पात्रका रूपमा प्रार्थना पाठकलाई देखाइएको छ भने सरोज खनाल र हिउँवाला गौतमजस्ता चर्चित कलाकारहरूको लुक्सलाई गोप्य राखिएको छ । निर्देशक तथा निर्माता रामजी ज्ञवालीले यसलाई कुनै व्यावसायिक प्रोजेक्ट मात्र नभई समाजमा सकारात्मक प्रभाव पार्ने माध्यमका रूपमा तयार गरिएको बताएका छन् ।
फिल्मको कथा रामशरण पाठकले लेखेका हुन् । सिनेमाटोग्राफी शंकल्प भुजेलले गरेका छन् भने सहायक निर्देशन वसन्त अधिकारीको छ । भरत कंडेल (साउण्ड डिजाइन), राजेन्द्र मोक्तान (कलर ग्रेडिङ) र नहकुल खड्का (सम्पादन) यो फिल्ममा रहेको छ ।
फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विस्ट र दिवस नाथजस्ता कलाकारहरूको प्रमुख भूमिका रहेको छ । ‘मौन’ नेपालका स्कुल, कलेज र संघसंस्थाहरूमा विशेष प्रदर्शन गर्ने योजनासहित तयार पारिएको हो ।
पत्रकारितामा लामो समय बिताएका रामजी ज्ञवालीले यसअघि ‘डार्कमुन’, ‘लापत्ता सन्तान’, ‘हनिमुन’, ‘आराध्या’ र ‘लिलामी’जस्ता सफल सर्ट फिल्म र म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनका प्रोजेक्टहरूले च्यारिटी शो र फेस्टिभलमा प्रशंसा बटुलेका छन् । निर्माण टिमका अनुसार ‘मौन’ चाँडै नै दर्शकमाझ आउनेछ । समाजमा चेतना फैलाउने यो प्रोजेक्टलाई विशेष महत्वका साथ प्रदर्शन गर्ने योजना बनाइएको छ ।