साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको नेपाली फिचर फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा क्यारेक्टर भिष्मको रुपमा विजय लामालाई बृद्द गेटअपमा प्रस्तुत गरिएको छ। विजयले निभएको पात्रको साइडमा इन्टरड्युसिङ्ग मुटु लेखिएको छ ।
लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीले यो चलचित्र निर्देशन गरेका हुन् । शाहीको यो तेश्रो निर्देशकीय सिनेमा हो । शाही र उनको टीम ‘एक्लो’ लाई हलिउड स्तरको सिनेमा बनाउने तयारीका साथ जुटेका छन् । अहिले लण्डनमा सिनेमाको पोस्ट प्रोडक्सनको कार्य धमाधम भईरहेको छ। चलचित्रको सम्पूर्ण कार्य सकिए पश्चात मात्र प्रदर्शन मिति फाइनल गरिने निर्देशक शाहीले बताए ।
स्टारकास्टहरूको भीडभाडजस्तै लाग्ने यो चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोदकुमार सुवेदी "क्षितिज", श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङका साथै बेलायती अभिनेता जेमी बेकनको समेत अभिनय रहेको छ ।
चलचित्र एक्लोका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी "क्षितिज" रहेका छन् । बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइन , सन्तोष लामा कला निर्देशन छ भने प्रोडक्सन डिजाइनरमा शुभराज कार्की र द्रोण प्रसाद पौडेल छन् ।