काठमाडौं । चर्चित वेब सिरिज ‘मिर्जापुर’को लोकप्रियतालाई फिल्ममा विस्तार गर्दै निर्माण गरिएको ‘मिर्जापुर’ ले भारतीय बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले तीन दिनमै भारतीय बजारमा ९३ करोड ७५ लाख भारु नेट कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फिल्मले सोमबारको व्यापारसँगै सय करोडको आँकडा पार गर्ने अपेक्षा गरिएको छ। २ सय ५० करोड भारु बजेटमा निर्माण भएको फिल्मले पहिलो दिन हिन्दी भर्सनबाट २७ करोड ७५ लाख भारु कमाएको थियो। दोस्रो दिन ३२ करोड र तेस्रो दिन ३६ करोड भारु नेट कमाइ गरेको बताइएको छ।
भारतमा फिल्मको कुल ग्रस कलेक्सन ११२ करोड भारु पुगिसकेको छ। विदेशमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ। तीन दिनमा विदेशबाट करिब २० करोड भारु ग्रस कमाएसँगै फिल्मको विश्वव्यापी ग्रस कलेक्सन १३२ करोड ३५ लाख भारु पुगेको छ। फिल्मको ‘वर्ड अफ माउथ’ बलियो रहेकाले आगामी दिनमा यसको व्यापार अझ बढ्ने अपेक्षा गरिएको छ। ट्रेड विश्लेषकहरूले फिल्मको विश्वव्यापी कलेक्सन ३०० करोड भारु पार गर्न सक्ने अनुमान गरेका छन्।
गुरमीत सिंहको निर्देशनमा बनेको फिल्ममा पंकज त्रिपाठी, अली फजल, दिव्येन्दु, श्वेता त्रिपाठी, श्रिया पिलगांवकर, रवि किशन, जितेन्द्र कुमार र कुलभूषण खरबन्दालगायतका कलाकारको अभिनय छ। सत्ता संघर्ष, बदला, ग्याङवार, पारिवारिक दुश्मनी र विश्वासघातलाई कथाको केन्द्रमा राखिएको फिल्मले ‘मिर्जापुर’को गद्दीका लागि हुने संघर्षलाई प्रस्तुत गरेको छ।
वेब सिरिजबाट स्थापित ‘मिर्जापुर’को ब्रान्ड भ्यालु र कलाकारको लोकप्रियतालाई फिल्मले बक्स अफिसमा समेत बलियो रूपमा उपयोग गरेको देखिएको छ।