काठमाडौं । प्रतिकूल परिस्थितिमा प्रदर्शनमा आएको चलचित्र ‘पार्वती’ले चौथो हप्तासम्म पनि दर्शकको साथ पाइरहेको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश नै शोकमा रहेका बेला भदौ १२ गतेबाट प्रदर्शनमा आएको चलचित्रले त्यतिबेला दर्शक हलसम्म पुग्ने हुन् कि होइनन् भन्ने चुनौती सामना गर्नुपरेको थियो। तर, जोखिम मोलेर प्रदर्शनमा आएको ‘पार्वती’ अहिले आर्थिक रूपमा समेत सकारात्मक यात्रामा अघि बढेको निर्माण पक्षले जनाएको छ।
अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाका अनुसार चलचित्रले हालसम्म २ करोड २० लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ। उनका अनुसार चलचित्र दुई दिनदेखि मुनाफाको यात्रामा प्रवेश गरिसकेको छ।
विपद्को समयमा चलचित्र प्रदर्शन गर्ने निर्णय भने नीताका लागि केवल व्यापारिक जोखिम थिएन। चलचित्र प्रदर्शनअघि नै उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्तिगत रूपमा एक लाख रुपैयाँ सहयोग गरेकी थिइन्। त्यसपछि चलचित्रको पहिलो दिन निर्माताको हातमा आउने सम्पूर्ण रकम पनि उद्धार कोषमा दिने घोषणा गरिन्।
‘पार्वती’को पहिलो दिन २५ लाख ९३ हजार रुपैयाँको ग्रस कलेक्सन भएको थियो। त्यसमध्ये निर्माताको हातमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ नीताले उद्धार कोषमा जम्मा गरेकी थिइन्।
यता, ‘पार्वती’ले अर्को चुनौती पनि सामना गरेको थियो। चलचित्र प्रदर्शनमा आएको सोही समयमा ठूलो बजेटको दक्षिण भारतीय चलचित्र ‘टक्सिक’ समेत रिलिज भएको थियो। धेरै शो विदेशी चलचित्रतर्फ गए पनि ‘पार्वती’ले दर्शकको साथ पाउँदै नेपाली चलचित्रको व्यापारलाई समेत सकारात्मक वातावरण बनाउन योगदान गरेको निर्माण पक्षको दाबी छ।
हाल हलमा सातवटा नेपाली चलचित्र प्रदर्शनमा रहेको र तिनको व्यापारमा समेत सकारात्मक प्रभाव परेको नीताको भनाइ छ। करिब एक करोड रुपैयाँको बजेटमा निर्माण गरिएको ‘पार्वती’को कथा अटिजमको विषयवस्तुमा आधारित छ। संवेदनशील विषयलाई केन्द्रमा राखेर बनाइएको चलचित्रमार्फत नीताले निर्देशनमा समेत डेब्यू गरेकी छन्। चलचित्रमा नीतासँगै बाल कलाकार अशोक दर्जी मुख्य भूमिकामा छन्।
चलचित्र प्रदर्शनपछि अटिजमका विषयमा दर्शकबीच संवाद बढेको नीताले बताएकी छन्। विशेषगरी अटिजम भएका बालबालिकाका अभिभावकबाट भावनात्मक प्रतिक्रिया पाइरहेको उनको भनाइ छ। नीताका अनुसार चलचित्रको कथा तयार हुनुअघि नै ‘पार्वती’ पात्र उनको दिमागमा आएको थियो। सोही पात्रलाई केन्द्रमा राखेर कथा विकास गरिएको हो।
‘पार्वती’को सफलताले ठूलो बजेटभन्दा बलियो विषयवस्तु र कथाले पनि चलचित्रलाई दर्शकमाझ पुर्याउन सक्ने बहसलाई अगाडि ल्याएको छ। करिब एक करोड रुपैयाँमा बनेको चलचित्रले २ करोड २० लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरिसक्नुले यसको व्यावसायिक यात्रालाई थप बलियो बनाएको निर्माण पक्षको भनाइ छ।