काठमाडौं । बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म ‘दृश्यम ३ : द कन्क्लूजन’ले भारतीय बक्स अफिसमा बम्पर सुरुआत गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन ६६ करोड ७५ लाख भारतीय रुपैयाँ नेट कमाउँदै अजय देवगनको करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको हो।
अभिषेक पाठकको निर्देशनमा बनेको फिल्मले भारतसँगै अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो सुरुआत गरेको छ। भारतीय ट्रेड पोर्टल स्याकनिल्कका अनुसार फिल्मले पहिलो दिन विदेशमा करिब १५ करोड भारतीय रुपैयाँ ग्रस कमाएको छ। भारतको ग्रस कमाइ करिब ८० करोड १० लाखसहित फिल्मको पहिलो दिनको विश्वव्यापी ग्रस कमाइ ९५ करोड १० लाख पुगेको जनाइएको छ।
‘दृश्यम ३’ ले पहिलो दिनको कमाइमा बलिउडका केही चर्चित फिल्मलाई समेत पछि पारेको छ। फिल्मले शाहरुख खानको ‘पठान’को ५७ करोड, रणवीर कपूरको ‘एनिमल’को ६३ करोड, ‘स्त्री २’को ५१ करोड ८० लाख, सलमान खानको ‘टाइगर ३’को ४४ करोड ५० लाख र सनी देओलको ‘गदर २’को ४० करोडको ओपनिङलाई उछिनेको छ।
पहिलो दिनको बम्पर कमाइपछि फिल्मको विकेन्ड कलेक्सन अझ बढ्ने अपेक्षा गरिएको छ। भारतीय ट्रेड विश्लेषकहरूले ‘दृश्यम ३’ अजय देवगनको करिअरकै सबैभन्दा धेरै कमाउने फिल्म बन्न सक्ने अनुमान गरेका छन्। हाल अजयको सर्वाधिक कमाउने फिल्म ‘तान्हाजीः द अनसंग वारियर’ हो, जसले भारतीय बक्स अफिसमा करिब ३६१ करोड रुपैयाँ कमाएको बताइन्छ।
करिब ११० करोड भारतीय रुपैयाँको निर्माण लागतमा बनेको ‘दृश्यम ३’ मा अजय देवगनसँगै तब्बु, श्रिया सरन, इशिता दत्ता, मृणाल जाधव, रजत कपूर, जयदीप अहलावत, प्रकाश राज, कमलेश सावंत र सौरभ शुक्लालगायत कलाकारको अभिनय छ।
फिल्मलाई दर्शक तथा समीक्षकबाट अघिल्ला दुई शृंखलाभन्दा उत्कृष्ट प्रतिक्रिया मिलिरहेको दाबी गरिएको छ। ‘दृश्यम ३’ लाई ‘दृश्यम’ फ्रेन्चाइजको अन्तिम श्रृंखलाका रूपमा प्रस्तुत गरिएको छ।