काठमाडौं । दसैंको माहोलसँगै नेपाली फिल्म क्षेत्रमा पनि प्रतिस्पर्धा तातेको छ। यस वर्षको दसैंमा अघिल्ला सफल फिल्मका दोस्रो शृंखलाबीच बक्स अफिसमा भिडन्त हुँदैछ। शुक्रबारदेखि प्रदर्शनमा आउने ‘१२ गाउँ २’ र ‘आबाट आमा २’ले एकैदिन दर्शकमाझ आफ्नो उपस्थिति जनाउँदै गर्दा प्रारम्भिक शो बाँडफाँटमा भने ‘आबाट आमा २’ अगाडि देखिएको छ।
दुवै फिल्मको अग्रिम टिकट बुकिङ खुलिसकेको छ। देशका प्रमुख मल्टिप्लेक्सले सार्वजनिक गरेको प्रारम्भिक शो विवरणअनुसार ‘आबाट आमा २’ले ‘१२ गाउँ २’भन्दा बढी शो पाएको छ। यद्यपि, दर्शकको माग र अग्रिम टिकट बिक्रीका आधारमा प्रदर्शनको क्रममा शो संख्या थपघट हुन सक्नेछ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘१२ गाउँ २’लाई काठमाडौं उपत्यकाभित्र २३ र उपत्यकाबाहिर २२ गरी कुल ४५ शो दिएको छ। ‘आबाट आमा २’ले भने उपत्यकाभित्र २३ र बाहिर २३ गरी ४६ शो पाएको छ।
त्यस्तै, आईएनआई सिनेमाजले ‘१२ गाउँ २’लाई १६ शो दिँदा ‘आबाट आमा २’ले २४ शो पाएको छ। बिग मुभिजमा ‘१२ गाउँ २’का तीन र ‘आबाट आमा २’का चार शो राखिएका छन्। वान सिनेमाजमा पनि ‘१२ गाउँ २’ले आठ र ‘आबाट आमा २’ले नौ शो पाएको छ।
प्रारम्भिक विवरणअनुसार उल्लेखित चार मल्टिप्लेक्स चेनमा ‘१२ गाउँ २’ले कुल ७२ शो पाउँदा ‘आबाट आमा २’ले ८३ शो पाएको छ। यसरी हेर्दा प्रारम्भिक शो बाँडफाँटमा ‘आबाट आमा २’ ११ शोले अगाडि देखिएको छ।
दुई वर्षअघि दसैंमा प्रदर्शनमा आएको ‘१२ गाउँ’ले राम्रो व्यापार गरेको थियो। विराज भट्टको निर्देशनमा बनेको उक्त फिल्मबाट समीर भट्टले अभिनेताका रूपमा डेब्यु गरेका थिए। एक्सनप्रधान फिल्ममा विराज र समीरसँगै अनुपविक्रम शाही, खुसी कार्की, कृशु शाही र वर्षा इटानीलगायतका कलाकारको अभिनय छ। पहिलो भागको सफलतापछि यसको दोस्रो शृंखलाप्रति पनि दर्शकको अपेक्षा बढेको छ।
अर्कोतर्फ, चन्द्र पन्तको निर्देशनमा बनेको ‘आबाट आमा २’मा पल शाह, विपना थापा, मलिका महत, आकाश श्रेष्ठ र रिस्ता गुरुङलगायतका कलाकार छन्। पहिलो भागले पारिवारिक सम्बन्ध र भावनात्मक कथामार्फत दर्शकको मन जितेको थियो। तर निर्देशक पन्तका अनुसार दोस्रो भागको पहिलो फिल्मसँग नामबाहेक अन्य सम्बन्ध छैन। यसमा नयाँ कथावस्तु प्रस्तुत गरिएको छ।
दुवै फिल्मको विधा र प्रस्तुतिमा भिन्नता छ। ‘१२ गाउँ २’ले एक्सनमार्फत दर्शक आकर्षित गर्ने अपेक्षा गरिएको छ भने ‘आबाट आमा २’ पारिवारिक तथा भावनात्मक कथामा केन्द्रित छ। त्यसैले शो संख्यामा देखिएको प्रारम्भिक अग्रताले मात्रै अन्तिम व्यापारको आकलन गर्न सकिने अवस्था छैन।
यसैबीच, शनिबारदेखि ‘छ माया छपक्कै २’ पनि प्रदर्शनमा आउनेछ। दीपेन्द्र लामाको निर्देशनमा बनेको यस फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा र रिहान गिरीलगायतका कलाकार छन्। कमेडी तथा पारिवारिक कथामा आधारित यो फिल्म पनि अघिल्लो सफल चलचित्रको दोस्रो शृंखला हो।
त्यसपछि कात्तिक ६ गतेदेखि ‘कबड्डी ५’ प्रदर्शनमा आउने तयारीमा छ। यससँगै दसैं आसपासको नेपाली फिल्म बजारमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिन्छ।
अघिल्ला फिल्मको सफलताले सिक्वेलप्रति दर्शकको चासो बढाए पनि त्यसले नयाँ फिल्मको व्यापार सुनिश्चित गर्दैन। दर्शकको प्रतिक्रिया, कथावस्तु, प्रचारप्रसार र मौखिक प्रशंसाले बक्स अफिसको नतिजामा प्रभाव पार्नेछन्। अब शुक्रबारदेखि सुरु हुने प्रतिस्पर्धामा शो बाँडफाँटको अग्रतालाई ‘आबाट आमा २’ले व्यापारमा पनि कायम राख्छ वा ‘१२ गाउँ २’ले पछि पार्छ भन्ने हेर्न बाँकी छ।