काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म प्रदर्शनमा आउन तीन दिन बाँकी रहँदा बुधबार साँझ ज्योतिषले दिएको साइतमा चार मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संकेत गर्दै विवाहेत्तर सम्बन्धलाई मुख्य विषय बनाएको छ। ट्रेलरमा दीपकराज गिरी बाइक राइडरको भूमिकामा देखिएका छन् भने केकी अधिकारी उनकी श्रीमतीको भूमिकामा छिन्।
चिकित्सकले केकीबाट सन्तान नहुने बताएपछि दीपकराज सनिशा भट्टराईसँग नजिकिएको कथा ट्रेलरमा देखाइएको छ। तर, पछि केकी र सनिशा दुवै गर्भवती भएपछि दीपकराजको जीवनमा नयाँ समस्या उत्पन्न हुन्छ। दुई महिलासँग जोडिएको सम्बन्ध र गर्भावस्थापछि उत्पन्न परिस्थितिलाई उनले कसरी सम्हाल्छन् भन्ने कौतूहल ट्रेलरले सिर्जना गरेको छ।
यद्यपि, कथाको मुख्य द्वन्द्व प्रस्तुत गरिए पनि ट्रेलरमा दर्शकलाई तत्काल आकर्षित गर्ने पञ्चलाइनको भने कमी देखिन्छ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको संयुक्त प्रस्तुतिमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईसँगै निर्मल शर्मा, कर्मा, जितु नेपाल, रिहान गिरी, रवीन्द्र झा, रमा थपलिया र मेक्सम गौडेललगायतका कलाकारको अभिनय छ। केदार घिमिरे ‘माग्ने बुढा’ले पनि फिल्ममा अभिनय गरेका छन्।
रोहित अधिकारीले निर्माण गरेको फिल्ममा दीपकराज गिरीकै लेखन रहेको छ। निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्म असोज ३१ गतेदेखि प्रदर्शनमा आउनेछ।
रोहित अधिकारीले यसअघि ‘छ माया छपक्कै’, ‘गाजलु’, ‘फर्की फर्की’ र ‘माइतीघर’जस्ता फिल्म निर्माण गरिसकेका छन्। दीपक–दीपाको समूहसँग उनको यो दोस्रो सहकार्य हो।