काठमाडौं । दसैँको अवसरमा प्रदर्शनमा आउन लागेका नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘कबड्डी ५’का ट्रेलरले युट्युबमा दर्शकको राम्रो साथ पाएका छन्। रिलिजको तयारीमा रहेका दुवै फिल्मका ट्रेलरले भ्युज र ट्रेन्डिङमा उल्लेख्य उपस्थिति जनाएका छन्।
चन्द्र पन्त निर्देशित ‘आ बाट आमा २’को ट्रेलर सार्वजनिक भएको तीन दिनमै ३३ लाखभन्दा बढी पटक हेरिएको छ। ट्रेलर युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको छ। मंगलबार ६८औँ स्थानमा रहेको ट्रेलर १५ मिनेटमै ४९औँ स्थानमा उक्लिएको थियो। समाचार तयार पार्दासम्म भने यो १०२औँ स्थानमा झरेको थियो।
नेपालसहित कुवेत, कतार, दुबई, साउदी अरब र मलेसियामा पनि फिल्मको ट्रेलर ट्रेन्डिङमा परेको छ। नेपालमा पाँचौँ स्थानमा रहेको ट्रेलर कुवेतमा ११औँ, कतारमा १४औँ तथा दुबई र साउदी अरबमा १७औँ स्थानमा रहेको थियो।
उता, रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५’को ट्रेलर पनि युट्युबमा चर्चामा छ। सार्वजनिक भएको केही समयमै साढे आठ लाखभन्दा बढी भ्युज पाएको ट्रेलर नेपालको युट्युब ट्रेन्डिङमा दोस्रो स्थानमा पुगेको छ। केही घण्टा पहिलो स्थानमा समेत रहेको ट्रेलरप्रति दर्शकले उत्साहजनक प्रतिक्रिया दिएका छन्।
विशेषगरी काजीको विवाह हुने कथालाई लिएर दर्शकले खुसी व्यक्त गरेका छन् भने अभिनेता विपिन कार्कीको प्रवेशले पनि दर्शकमाझ उत्सुकता बढाएको छ।
दुवै फिल्म एक साताको अन्तरमा प्रदर्शनमा आउँदै छन्। ‘आ बाट आमा २’ असोज ३० गते र ‘कबड्डी ५’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछन्।
‘आ बाट आमा २’मा विपना थापा, प्रदीप रावत, पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महतलगायत कलाकारको अभिनय छ। आमा र छोराबीचको सम्बन्ध तथा वैदेशिक रोजगारीको कथामा आधारित फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्।
त्यस्तै, ‘कबड्डी ५’मा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, विजय बराल, बुद्धि तामाङ र मिरुना मगरलगायत कलाकारको अभिनय छ। रामबाबु गुरुङ निर्देशित फिल्मले धोका पाएपछि विरक्तिएका काजीको जीवनमा मैयाँको आगमनसँगै आउने उतारचढावलाई प्रस्तुत गर्छ।
ट्रेलरले पाएको प्रारम्भिक प्रतिक्रियाले दुवै फिल्मप्रति दर्शकको चासो बढेको देखाएको छ। अब प्रदर्शनपछि दर्शकको साथ र बक्स अफिसमा हुने प्रतिस्पर्धाले दसैँको फिल्मी माहोल थप रोचक बनाउने अपेक्षा गरिएको छ।