काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका-४, सेउघा जोगिथुममा अवस्थित ऐतिहासिक जोगिथुम भगवती मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेर पनि पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। स्थानीय जनश्रुति, परम्परागत पूजाविधि र विशेष धार्मिक मान्यताका कारण परिचित यो मन्दिरलाई धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ।
स्थानीय जनश्रुतिअनुसार जोगिथुम भगवती मन्दिर क्षेत्र १७औँ शताब्दीदेखि धार्मिक आस्थाको केन्द्रका रूपमा रहँदै आएको छ। मन्दिरको प्राचीनतालाई पुष्टि गर्ने आधारका रूपमा वि.सं. १९७३ मा धनवीर रानाले अर्पण गरेको घण्टालाई पनि लिइन्छ। मन्दिरमा महाकाली भगवतीसहित छत्रमहाराज, उल्कमहाराज, खड्कमहाराज र शेषनागको पूजा गर्ने परम्परा रहेको छ।
मन्दिरमा प्रत्येक आइतबार विशेष पूजा गरिन्छ। दसैँका दुवै नवरात्रमा परम्परागत विधिअनुसार भगवतीको आराधना र अनुष्ठान सञ्चालन हुँदै आएको छ। स्थानीय धार्मिक मान्यताअनुसार जोगिथुम भगवती, धाइथुम भगवती र अर्जुन भगवतीलाई सहोदर दिदीबहिनीका रूपमा पूजा गर्ने चलन छ।
यस मन्दिरको अर्को विशेषता मगर समुदायसँग जोडिएको परम्परागत पूजापद्धति हो। यहाँ रानामगर समुदायका व्यक्ति मूल पुजारी रहने परम्परा छ। मूल पुजारी अनुपस्थित हुँदा झाँक्री मगर र दर्लामी मगरले सहायक पुजारीका रूपमा पूजा सञ्चालन गर्ने गरेको बताइन्छ। त्यस्तै, ब्राह्मण पण्डितबाट दुर्गासप्तशती, देवीभागवत र वेदपाठजस्ता धार्मिक अनुष्ठानसमेत गरिन्छ। यसले स्थानीय मगर संस्कृति र वैदिक परम्पराबीचको सहअस्तित्वलाई उजागर गर्छ।
जोगिथुम भगवती मन्दिरमा दसैँको कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने सराए नाच पनि विशेष आकर्षण हो। पञ्चेबाजाको तालमा खुकुरी, तरवार र ढालसहित प्रस्तुत गरिने सराए नाच हेर्न तथा भगवतीको दर्शन गर्न विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन्। यस अवसरमा लाग्ने मेलाले स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परालाई जीवन्त राख्न सहयोग पुर्याउँदै आएको छ।
मन्दिरसँग जोडिएको अर्को विशिष्ट धार्मिक विश्वास नवरात्रमा देखिने त्रिशूलको आकृति हो। स्थानीय मान्यताअनुसार दसैँको नवरात्रमा पूजा सम्पन्न गरेपछि पवित्र जल, गोबर र माटोले गर्भगृहको भित्तामा लेपन गर्दा त्यहाँ दुईवटा त्रिशूल आपसमा जुधेको आकृति देखिने विश्वास गरिन्छ। श्रद्धालुहरूले यसलाई भगवतीको कृपा र आस्थासँग जोडेर हेर्ने गरेका छन्।
धार्मिक महत्त्व र मौलिक सांस्कृतिक परम्परा हुँदाहुँदै पनि मन्दिरको प्रचारप्रसार, पूर्वाधार विकास र धार्मिक पर्यटन प्रवर्द्धनमा थप पहल आवश्यक देखिएको छ। स्थानीय तह, प्रदेश सरकार र सम्बन्धित निकायले मन्दिरको संरक्षण, पहुँचमार्ग, आवश्यक पर्यटकीय पूर्वाधार र प्रचारप्रसारमा ध्यान दिन सके जोगिथुमलाई गुल्मीको प्रमुख धार्मिक गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना छ।
धार्मिक पर्यटनको विकासले स्थानीय व्यवसाय, यातायात र रोजगारीका अवसर विस्तार गर्नसमेत सहयोग पुर्याउन सक्छ। त्यसका लागि मन्दिरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको अभिलेखीकरण, स्थानीय परम्पराको संरक्षण र योजनाबद्ध प्रचारप्रसार आवश्यक देखिन्छ।