काठमाडौं । नितेश तिवारीको निर्देशनमा बनेको भारतीय पौराणिक फिल्म ‘रामायण’ले भारतीय बक्स अफिसमा एक हजार करोड भारुभन्दा बढी नेट कमाइ गरेको छ। प्रदर्शनको २३ दिनमा फिल्मले भारतमा १ हजार करोड ५५ लाख भारु नेट कमाउन सफल भएको हो।
शुक्रबार मात्रै फिल्मले भारतीय बजारमा ८ करोड ४५ लाख भारु नेट कमाएको छ। फिल्मको भारतमा कुल ग्रस कमाइ १ हजार १९५ करोड १० लाख भारु पुगेको छ।
विदेशी बजारमा पनि फिल्मले उल्लेख्य व्यापार गरेको छ। शुक्रबारसम्म विदेशी बजारबाट फिल्मले ५९५ करोड भारु ग्रस कमाएको छ। त्यसमा नेपालको योगदान २७ करोड रुपैयाँ रहेको जनाइएको छ।
भारत र विदेशी बजारको कमाइ जोड्दा फिल्मको विश्वव्यापी ग्रस व्यापार १ हजार ७९० करोड १० लाख भारु पुगेको छ। योसँगै ‘रामायण’ विश्वव्यापी रूपमा सर्वाधिक कमाइ गर्ने तेस्रो भारतीय फिल्म बनेको छ।
फिल्मले प्रदर्शनको पहिलो आठ दिनमा भारतमा ५६४ करोड ६० लाख भारु नेट कमाएको थियो। दोस्रो सातामा २९९ करोड १५ लाख र तेस्रो सातामा थप १२८ करोड ३५ लाख भारु नेट कमाइ गरेको छ। पहिलो साताको तुलनामा दोस्रो साताको व्यापार ४७ प्रतिशतले घटेको थियो भने तेस्रो सातामा दोस्रो साताको तुलनामा ५७.१ प्रतिशत गिरावट आएको थियो। अहिले फिल्म चौथो सातामा प्रदर्शनरत छ।
भारतीय बजारमा फिल्मको कमाइमा हिन्दी संस्करणको योगदान सबैभन्दा ठूलो रहेको छ। हिन्दी संस्करणले मात्रै ७५७ करोड ६५ लाख भारु नेट कमाएको छ, जुन कुल घरेलु नेट कमाइको ७५।७ प्रतिशत हो।
त्यस्तै, कन्नड संस्करणले ७९ करोड ९० लाख, तेलुगु संस्करणले ५८ करोड ५ लाख, मलयालम संस्करणले ५४ करोड ३० लाख र तमिल संस्करणले ५० करोड ६५ लाख भारु नेट कमाएका छन्।
भगवान् राम र रावणको पौराणिक कथामा आधारित फिल्ममा रणवीर कपूरले राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन्।
फिल्मको दोस्रो भागसमेत निर्माण भइसकेको छ। दोस्रो भाग सन् २०२८ को दीपावलीमा प्रदर्शन गर्ने तयारी गरिएको छ। त्यसमा हनुमान पात्रको प्रवेशसँगै राम र रावणबीचको युद्धलाई मुख्य रूपमा प्रस्तुत गरिनेछ।