काठमाडौं । मोरङको बेलबारीमा आगामी पुस ४ गतेदेखि नवौँ मेजर एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
डाँगीहाट युथ क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ४ देखि १० गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा नेपाल र भारतका आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
बेलबारी नगरपालिका-११ स्थित लक्ष्मीमार्ग खेल मैदानमा हुने प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लबसहित भारतको मिक्स क्लब खर्साङ, सहलेस युवा क्लब सिराहा, नेपाल पुलिस क्लब काठमाडौं, भोजपुर जिल्ला फुटबल सङ्घ, थ्री स्टार क्लब काठमाडौं, साविक विजेता प्लानिङ ब्वाइज क्लब काठमाडौं र रेड स्टार फुटबल क्लब बिर्तामोड सहभागी हुनेछन्।
राष्ट्रियस्तरका ए डिभिजन क्लब तथा भारतीय टोलीको सहभागिता रहने भएकाले यसपटकको प्रतियोगिता प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आयोजक क्लबका अध्यक्ष विक्रम बान्तवाले बताउनुभयो।
प्रतियोगिताको आठौँ संस्करणमा सहलेस युवा क्लब सिराहालाई २–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंले उपाधि जितेको थियो। यसपटक पनि प्लानिङ ब्वाइज उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।
स्थानीयस्तरमा फुटबलको विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीबीच प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।