काठमाडौं । नारायणी नदीमाथि निर्माणाधीन सिग्नेचर पुलको काम महिनौँदेखि ठप्प भएपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठेक्का नै तोड्ने चेतावनी दिनुभएको छ। निर्माणस्थलको निरीक्षणका क्रममा पुलको भौतिक प्रगति अत्यन्तै कमजोर देखिएपछि मन्त्री लम्सालले ठेकेदार कम्पनीलाई कडा चेतावनी दिनुभएको हो।
निर्माणको जिम्मा लिएको तुन्दी कन्स्ट्रक्सनले देशका विभिन्न स्थानमा पनि आयोजनाहरू अलपत्र पारेको भन्दै मन्त्री लम्सालले कम्पनीका सबै परियोजनाको प्रगति विवरण तयार गर्न निर्देशन दिनुभएको छ। उहाँले अबको निरीक्षणमा कि तोकिएको कार्यतालिकाअनुसार काम अघि बढेको हुनुपर्ने, नभए ठेक्का तोडिएको हुनुपर्ने स्पष्ट पार्नुभएको छ।
नारायणी नदीमा बाढी आउन थालेपछि निर्माण कम्पनीले काम रोकेको बताइएको छ। भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण पनि निर्माण प्रभावित भएको जनाइएको छ। तर, बाढीको जोखिम कम भइसकेपछि पनि काम पुनः सुरु हुन नसक्दा आयोजना थप अन्योलमा परेको छ।
चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सन् २०२३ जुन २ अर्थात् २०८० साल जेठ १९ गते तुन्दी कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। मूल्य अभिवृद्धि करसहित एक अर्ब ६८ करोड ७६ लाख २३ हजार रुपैयाँभन्दा बढी लागत रहेको आयोजनाको म्याद आगामी जेठमा सकिँदैछ। तर, निर्माणको प्रगति भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।
आयोजना पूरा भएपछि नारायणी नदीमाथि ४२० मिटर लामो र साढे सात मिटर फराकिलो आकर्षक सिग्नेचर पुल निर्माण हुनेछ। दुई लेनको सडकसहित साढे तीन मिटरको फुटपाथ रहने पुलमा दुई मुख्य आकर्षक पिलर हुनेछन्। ती पिलरबीचको दूरी २१० मिटर रहनेछ। पुलको डिजाइन साना पानीजहाजसमेत आवतजावत गर्न सक्ने गरी तयार पारिएको छ।
तर, देशकै आकर्षक पूर्वाधार आयोजनामध्ये एक मानिएको यो पुल निर्माणको काम नै ठप्प भएपछि यसको भविष्य अन्योलमा परेको छ। पटक–पटक म्याद थप्दै र निर्माणको आश्वासन दिँदै आयोजना लम्ब्याउने प्रवृत्तिबीच मन्त्रीको पछिल्लो चेतावनीले कामलाई गति दिन्छ वा फेरि अर्को प्रतिबद्धतामै सीमित हुन्छ, त्यो भने हेर्न बाँकी छ।