काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग-२ को सन् २०२३-२०२७ चक्र अन्तिम चरणमा पुग्दा नेपाली खेलाडीको व्यक्तिगत प्रदर्शन मिश्रित देखिएको छ। प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष १० मा नेपालका कुनै पनि खेलाडी पर्न सकेका छैनन्। तर, बलिङतर्फ नेपाली टोलीका कप्तान सन्दीप लामिछाने उत्कृष्ट ६ खेलाडीभित्र अटाएका छन्।
आइतबार क्यानडालाई २४ रनले पराजित गरेसँगै नेपाल लिगको अंकतालिकामा छैटौँ स्थानमा उक्लिएको छ। नेपालको ३३ खेलबाट २६ अंक रहेको छ। नेपालले अहिलेसम्म १२ खेल जित्दा १९ खेलमा हार बेहोरेको छ भने दुई खेल नतिजाविहीन भएका छन्।
ब्याटिङतर्फ नेपाली खेलाडीमध्ये रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी शीर्ष १५ भित्र छन्। क्यानडाविरुद्ध शतक प्रहार गरेका रोहितले ३२ खेलमा ८४५ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा ११औँ स्थान ओगटेका छन्। त्यस्तै, दीपेन्द्रले २९ खेलका २५ इनिङ्समा ८०२ रन बनाउँदै १४औँ स्थानमा छन्।
प्रतियोगितामा अमेरिकाका मिलिन्द कुमार सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्। उनले ३१ खेलका २९ इनिङ्समा कुल एक हजार ३४८ रन बनाएका छन्।
बलिङतर्फ भने सन्दीप लामिछानेले नेपालको प्रदर्शनलाई केही राहत दिएका छन्। उनले २७ खेलमा ४४ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उत्कृष्ट ६ भित्र स्थान बनाएका छन्। नेपालका करण केसीले पनि २६ खेलमा ३५ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा १४औँ स्थानमा छन्।
प्रतियोगितामा नामिबियाका बर्नार्ड शोल्ट्ज सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। उनले कुल ४३ विकेट लिएका छन्।
आठ टोली सहभागी विश्व क्रिकेट लिग-२ विश्वकप छनोट र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने दृष्टिले महत्वपूर्ण प्रतियोगिता हो। यसपटक नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाउन सकेन। अब नेपालले प्लेअफमार्फत विश्वकप छनोटमा पुग्ने अवसर खोज्नुपर्नेछ।
नेपाल अहिले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने लक्ष्यसहित ओमान भ्रमणमा छ। उपलब्ध विवरणअनुसार बाँकी चार खेलमध्ये कम्तीमा तीन खेल जित्न सके नेपालले आफ्नो एकदिवसीय मान्यता जोगाउन सक्नेछ। प्रतियोगिताको उपाधि भने दुई खेल बाँकी छँदै अमेरिकाले जितिसकेको छ।