काठमाडौं । दिवंगत अभिनेता सुनील थापाको अभिनय रहेको अन्तिम नेपाली फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फिल्मको दुई मिनेटभन्दा लामो ट्रेलर सार्वजनिक गरिएको हो । फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ ।
सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र हिमाली परिवेशलाई प्रस्तुत गरेको छ । यार्सागुम्बा टिप्न हिमाली क्षेत्रमा पुगेकी एक युवतीले लुटेरा समूहको सामना गर्नुपरेपछि भोग्ने चुनौतीलाई ट्रेलरमा देखाइएको छ । लुटेराको घेरामा परेकी युवतीले आफूलाई कसरी जोगाउँछिन् भन्ने कौतूहल ट्रेलरले सिर्जना गरेको छ । फिल्मको छायांकन र पृष्ठभूमि संगीत पनि आकर्षक देखिएको छ ।
ह्वाइट एलिफेन्ट मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुनील थापा, कर्मा शाक्य, मेनुका प्रधान, राहुल एन। मुखिया, परीक्षा लिम्बू, सजन थापा, अंकित खड्का, सुनिल तामाङ, सेविता अधिकारी, ऋषिकेश बस्याल र तेन्जिङ ठकुरीलगायत कलाकारको अभिनय छ । ट्रेलरले सुनील थापालाई नकारात्मक भूमिकामा प्रस्तुत गरेको संकेत गर्छ ।
धीरज राजवंशीको निर्देशनमा बनेको फिल्म नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउनेछ । भारतमा फिल्मको वितरण अनिल थडानीको कम्पनी ‘एए फिल्म्स’ले गर्नेछ । कम्पनीले यसअघि ‘बाहुबली’, ‘पुष्पा’ र ‘आरआरआर’लगायत दुई सयभन्दा बढी भारतीय फिल्म वितरण गरिसकेको छ ।
निर्देशक राजवंशीका अनुसार फिल्म भारतमा पनि नेपाली भाषामै प्रदर्शन हुनेछ । नेपाली भाषामै फिल्म प्रस्तुत गर्नुको उद्देश्य भाषाको सीमालाई तोड्दै भारतीय दर्शकमाझ नेपाली चलचित्र पुर्याउनु रहेको उनले बताएका छन् । फिल्ममा अंग्रेजी सबटाइटल भने राखिनेछ ।
सुनील थापाको अन्तिम नेपाली फिल्मका रूपमा रहेको ‘हिमालयन गोल्ड’ले हिमाली परिवेशको कथा, सस्पेन्स र कलाकारको अभिनयमार्फत दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।